एमसीसीविरुद्ध भदौ २८ गते काठमाडौँमा बिशाल जनसभाः महासचिव विप्लवले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गराएरै छाड्ने उद्घोष गरेको छ । सो पार्टीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले उक्त उद्घोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन निर्णायक आन्दोलन आवश्यक रहेकाले आफ्नो पार्टी केन्दीय समितिको बैठक रोकेर एमसीसीबिरुद्ध संघर्षमा होमिएको बताए । ‘अहिले फेरि एकपटक हाम्रो राष्ट्रियतामाथि एउटा ठूलो हमला भइरहेको छ । एमसीसी आजको तीन, चार वर्ष अगाडि यसलाई सम्पन्न गर्ने उद्देश्यका साथ अमेरिकी शासक वर्गले ल्याएको प्रोजेक्ट हो, त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो, अर्थमन्त्रीमा हालका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो’ प्रवक्ता प्रकाण्डले भने– ‘नेपाली जनताले अहिलेसम्म त्यसको बिरोध गरिरहेका छन्, तर पनि एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ, यदि पास भएमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन ।’
सरकारले संसद् बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने बताए । उनले भदौ २८ गते हुने उक्त जनप्रदर्शनको नेतृत्व र जनसभालाई सम्बोधन महासचिब विप्लवले गर्ने जानकारी दिँदै जनसभामा देशका तमाम क्रान्तिकारी राष्ट्रवादी दल र नेतालाई समेट्ने प्रयास भइरहेकोसमेत बताए ।
प्रवक्ता प्रकाण्डले एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभएर देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए । उनले एमसीसी संसद्बाट पास गराउने षड्यन्त्र भइरहेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्बाट पास गराउने मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी दिए । प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री देउवाले जनताको कुरा सुनेर एमसीसीलाई संसद्मा लैजान नहुने बताउदै भने– ‘देउवाले हाउसमा एमसीसी लाने कुरा फिर्ता लिनुपर्छ । नेपाली जनताको विरोधलाई सुन्नुपर्छ । यदि एमसीसी अघि बढाएमा कडा आन्दोलन गर्छौं । संसदीय भ्रष्ट तत्वलाई हामीले किन छुट दिने ? उनीहरु विरुद्ध प्रतिरोध गर्छौं । एमसीसी जबरजस्ती पास गरिन्छ भने यो देश जल्छ । आगो लाग्छ, आन्दोलनको आगो लागेका बेला के हुन्छ, शासकहरूले हेक्का राखुन । अहिले प्रचण्ड जी पनि त्यही गठबन्धनमा छन् । त्यसैले उनले पनि यसबारे बेलैमा नसोचे पछुताउनेछन् ।’
प्रवक्ता प्रकाण्डले एमसीसीलाई समाजका हरेक तप्काले विरोध गर्दै आइरहेको र विरोध गर्न कोही पनि बाँकी नरहेको बताउँदै यस अवस्थामा पनि संसद्बाट पारित गराउने प्रयास भइरहेको बताउदै भने– ‘यहाँसम्म कि एमसीसीको बारेमा सत्तारुढ गठबन्धनमै विवाद भइरहेको छ, उनीहरूकै बीचमा सहमति भएको छैन । यस अवस्थामा पनि त्यसलाई पारित गराउने प्रपञ्च भइरहेको छ’ । उनले जति प्रपञ्च भएपनि नेकपा त्यसको विरुद्धमा उभिने बताउँदै संसदीय दलहरूले विदेशी सामु घुँडा टेकेको ठोकुवा गरे । प्रवक्ता प्रकाण्डले आफ्नो दल एमसीसीको विरुद्ध सङ्घर्षमा रहेको उल्लेख गर्दै एमसीसी पास गरे भने देशमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनीसमेत दिए । प्रवक्ता प्रकाण्डले भने– ‘देश धेरै अप्ठ्यारोमा छ, त्यो अप्ठ्यारो जनताले बनाएको होइन, यी राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भूमरीमा फसेको हो ।’
प्रवक्ता प्रकाण्डले सरकारसँग तीन बुँदे सहमति गरेको तर त्यो कार्यान्वयन नभएको बताउँदै नेपाली क्रान्तिको विरुद्ध षड्यन्त्र भएको ठोकुवा गरे । उनले तीन बुँदे सम्झौता गरे पनि सरकारले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई नछाडेको उल्लेख गर्दै आफ्ना केही नेताहरू जेलबाट कानुनअनुसार रिहा भएको र यसमा सरकारको कुनै सहयोग नरहेको बताए । उनले भने ‘माग सम्बोधन भएन भने एकपटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनमा जान्छौँ । हामीलाई फेरि आन्दोलनमा धकेल्ने प्रयास नगरियोस् ।’
यसैगरी प्रवक्ता प्रकाण्डले भने– ‘जनताको प्रतिनिधित्व गर्ने व्यवस्था नै वैज्ञानिक समाजवाद भएकाले जनताले आफ्नो व्यवस्था चुन्ने अधिकार पाउनु पर्छ । त्यसका लागि जनमतसंग्रह गरौँ भनेका छौँ, यो कुरा सम्बोधन भएन भने एकपटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौ ।’
प्रवक्ता प्रकाण्डले देशमा संसदीय चुनाव होइन जनमतसंग्रहको चुनाव हुनुपर्ने बताउदै संसदीय चुनाव भए देशमा विद्रोहको आगो बल्ने चेतावनी दिए । उनले संसदीय चुनाव नभई जनमत सङ्ग्रह हुनुपर्नेमा जोड दिँदै जनमत संग्रहबाट वैज्ञानिक समाजवादको विकल्प नभएको ठोकुवा समेत गरे । – क्षेप्यास्त्र साप्ताहिक