एमसीसीबिरुद्ध देशव्यापीरुपमा बेलुन उडाउदै सिठ्ठी जुलुस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशब्यापीरुपमा एमसीसीबिरुद्ध बेलुन उडाउदै सिठ्ठी जुलुस प्रदर्शन सम्पन्न गरेको छ। यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङले एमसीसी सम्झौता विरुद्ध केन्द्रीय चरणबद्ध विरोध कार्यक्रम अन्तर्गत आज जिल्लाका सम्पूर्ण पालिकाका केन्द्रहरुमा एमसीसी खारेज गर लेखिएको बेलुन आकाशमा उडाएको छ । नेकपा तुलसीपुर उपमहानगरले व्यापक जनसहभागिताका बिच सिटी जुलुससहित नगर परिक्रमा गर्दै एमसीसी विरुद्धको विरोध कार्यक्रम सम्पन्न गरेको छ । तुलसीपुरको सल्यान रोडबाट सुरु भएको विरोध सिटी जुलुस बिरेन्द्र चोक, घोराही रोड, बाहिनी चोक, मदन आश्रित चोक हुँदै बिपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा तुलसीपुर उपमहानगर इन्चार्ज विकासले एमसीसी पास भए नेपाल दोस्रो अफ्गानिस्तान बन्ने बताए । उनले नेपाली संसदवादी दलालहरु नेपाली अनुहारका साम्राज्यवादी दूत भएको समेत बताए । नेता विकासले नेपाललाई चीन घेर्नको लागि उपयुक्त भूगोलको रुपमा प्रयोग गरेर रणमैदान बनाउने अमेरिकी रणनीति कुनैपनि हालत सफल हुन नदिने उद्घोष गरेका थिए ।
सांसदहरुले एमसीसी सम्झौतामा हस्ताक्षर गरे आफ्नो पार्टीले जनयुद्धमा जस्तैगरी गाउँगाउँबाट बाजा बजाएर लखेट्ने चेतावनी दिए । नेपाली जनताले नचाहेको सम्झौता संसदवादी दलहरुलाइ किन मन परेको छ ? नेता विकासले प्रश्न गरे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता नेकपा दाङ जिल्ला कमिटी सदस्य इश्वरीले एमसीसी जस्तो रास्ट्रघाती सम्झौता पास गर्ने धृष्टता गरे जनताले भयंकर ठूलो बिद्रोह गर्ने चेतावनी दिए । नेता इश्वरीले आफुहरु मर्न तयार हुने तर साम्राज्यवादको अतिक्रमण सहेर नबस्ने उद्घोष गरे ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमरले एमसीसी सम्झौता नेपालको कानुन भन्दामाथि भएको जिकिर गरे । उनले देशमा रहेका बहुमुल्य धातु कब्जा गर्ने, छिमेकी मुलुक चिनलाई आक्रमण गर्न हाम्रो भुगोल प्रयोग गर्ने अमेरिकी रणनीति कुनैपनि हालतमा सफल हुन नदिने उद्घोष गरे । नेता अमरले संसदवादी दलालहरुले इतिहासदेखि गरेका आसमान सन्धि सम्झौता समेत खारेज गर्न माग गरे । जबर्जस्त एमसीसी पास गर्न खोजे सम्पूर्ण युवा, विद्यार्थीहरु राष्ट्र जोगाउन र जनताको मुक्तिका लागि जनमुक्ति सेना बनेर बन्दुक बोक्न बाध्य हुने समेत उद्घोष गरेका थिए।
एमसिसी सम्झौता विरुद्धको विरोधसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य बिजयले गरेका थिए ।
यस्तै नेकपा शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकाले संयुक्त रुपमा एमसीसी सम्झौता विरुद्ध सिटी जुलुस र बेलुन उडाउने कार्यक्रम सम्पन्न गरेको जनाएको छ । शान्तिनगर ५ रगैजाबाट सुरु भएको सिटी जुलुस दंगीशरण ६ श्रीगाउँमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन नेकपा दाङ जिल्ला कार्यालय सदस्य निर्मलले गरेका थिए भने सहजीकरण पार्टी जिल्ला कमिटी सदस्य राजकुमारले गरेका थिए ।
यता नेकपा घोराही उपमहानगरले पनि एमसीसी सम्झौता विरुद्ध सिटी जुलुस र बेलुन उडाएको छ । जुलुस पछिको कोणसभालाई नेकपा दाङ जिल्ला कमिटी सदस्य मोतीले सम्बोधन गरेका थिए भने सहजीकरण पार्टी दाङ जिल्ला कमिटी सदस्य अनिलले गरेको जनाइएको छ ।
यस्तै नेकपा लमही, गढवा र राजपुर गाउँपालिकाले संयुक्त रुपमा लमही, भालुबाङ हुँदै गढवासम्म सिटी जुलुससहित गढवा बजार परिक्रमा पछि कोणसभा कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कोणसभालाई सम्बोधन नेकपा विशेष कमिटी सदस्य विक्रम, नेकपा दाङ जिल्ला कमिटी सदस्य तथा गढवा राजपुर गाउँपालिका इन्चार्ज सुरजले गरेका थिए भने सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनकले गरेको जनाइएको छ ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले बुटवलमा एमसीसी सम्झौताविरुद्ध कालो बेलुन सहित सिट्ठी जुलुस प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत चौथो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध कालो बेलुन सहित सिट्ठी जुलुस प्रदर्शन गरेको हो । नेकपाका जिल्ला इन्चार्ज कृतिको नेतृत्वमा भएको कार्यक्रममा जिल्लाका सेक्रेटरी विश्वाससहित नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो । पुष्पलालपार्कबाट नाराबाजी सहित सुरु भएको जुलुस अमरपथ, राममन्दिर हुँदै बिपीचोकमा पुगेर कोणसभा भएको थियो । कोणसभामा नेकपाका जिल्ला सेक्रेटरी विश्वासले एमसीसी परियोजना नेपालको हितमा नभएको भन्दै यसले राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि हस्तक्षेप गरेको बताए । उनले यो सम्झौता षड्यन्त्रपूर्वक संसदबाट पास गरेर कार्यान्वयन गर्न खोजिएको भन्दै देशभक्त नेपालीहरूले निरन्तर खबरदारी गर्न आवश्यक रहेको बताए । उनले भने, “एमसीसी सम्झौताविरुद्ध सम्पूर्ण नेपालीहरू पार्टीगत स्वार्थभन्दा माथि उठेर देश जोगाउन उठ्नुपर्छ ।” उनले कुनैपनि हालतमा सम्झौता खारेजीका विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने बताए ।
कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य आत्मा पौडेलले गरेका थिए भने कोणसभाको सुरुमा संग्रामी सांस्कृतिक परिवारले नाँचसमेत प्रस्तुत गरेको थियो ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आइतबार सन्धिखर्कमा राष्ट्रघाती एमसीसी सम्झौताबिरद्ध बेलुन उडाउँदै सिट्ठी जुलुस गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार अमेरिकाले एमसीसी परियोजनामार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैयाँमा राखिएका बुँदाहरू राष्ट्रघाती भएको र यो परियोजना तुरुन्त खारेजीको माग गर्दै कालो बेलुन उडाउँदै सिट्ठी जुलुस गरेर बिरोध गरेको सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले जानकारी दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका सचिव खेम घर्तिले एमसीसी हाम्रो देशलाई आवश्यक नभएको, यहाँका जनतालाई आवश्यक नभएको बताएका छन् । उनले यसै भनाईलाई स्पष्ट पार्दै नेपालमा बाटो र विद्युतिय लाईनको लागि यहाँका दलालहरूले छलेको कर मात्रै असुल गर्ने हो भने एमसीसी परियोजनाको भन्दा ५ गुणा बढि पैसा उठ्ने र त्यसैले देश शिक्षा, स्वास्थ्य, विद्युत लगायतका बिकासमा टेवा पुग्ने बताए ।
यस्तै सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले यदि सरकार साच्चै जनताका अभिभावक हो भने भारतले अतिक्रमण ७२ भन्दा बढि ठाउँबाट मिचिएका भूभागहरू फिर्ता ल्याऊ, जनताका छोराछोरीलाई निःशुल्क शिक्षा देऊ, निःशुल्क उपचार गर यो जनताले नचाहेको एमसीसी ल्याएर नेपाली जनताको छातीमा अमेरीकी सेनाको बुट बजार्ने काम नगर्न चेतावनी दिँदै आम देशभक्त नागरिकहरूलाई अबको एक मात्र विकल्प वैज्ञानिक समाजवादले मात्र देशको आमुल परिवर्तन हुने बताउँदै एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादको बाटोमा लामबद्ध हुन अनुरोध गरे । सिट्ठी जुलुस कार्यक्रम भक्तिटोलादेखि शान्ति बगैँचासम्म भएको र कोणसभा गर्दै एमसीसी खोरेजीको माग गर्दैै बेलुन उडाएर समापन भएको थियो ।
यसैगरी , कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरूमा बेलुन उडाएर एमसिसिको विरोध गरिएको छ ।सरकारले देशको राष्ट्रियता लाइ नै ओझेलमा पर्ने राष्ट्रघाती सम्झौता एमएमसी पास गर्न लागिपरेको बताउँदै यो सम्झौता कुनै पनि हालतमा पास हुन नदिन सिंगो पार्टी सशक्त रूपले संघर्षमा उत्रने युवा संगठन नेपाल सेती माहाकाली कार्यालय सचिव मनमोहन जोशीले बताए।विरोध प्रदर्शन कार्यक्रममा जिल्लाका सबै जनवर्गीय संगठनका नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।
कैलालीको धनगढीमा पनि राष्ट्रघाती एमसिसि बिरुद्ध बेलुन फुटाएर बिरोध प्रदर्शन गरिएको छ ।नेकपा कैलालीको गोदावरी नगर समिति र धनगढी नगर समितिले संयुक्त विरोध प्रदर्शन गरेको हो ।प्रदर्शन चौराह बाट शुरू भएर बजार परिक्रमा गर्दै पार्क मोडमा गएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई नेकपा धनगढी उपमहानगर इन्चार्ज रमेश साउँदले सम्बोधन गरेका थिए।देशका दलालहरुले नेपालका नदीनाला लगायत सम्पदालाई बेचेर आफु रजाई गरिरहेको बताउँदै अझैपनि विकासका नाममा रास्ट्रघाती एमसिसि पास गरी देशलाई साम्राज्यवादको क्रिडास्थल बनाउन खोजेको आरोप लगाए। भ्रष्टाचार र राष्ट्रघातका विरुद्धमा सङ्घर्ष गर्दै कुनै पनि हालतमा एमसिसि सम्झौता खारेज गरेरै छोड्ने प्रतिवद्धता जनाए ।
कोणसभाको सञ्चालन अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष महेश पातलीले गरेका थिए ।कैलालीका टिकापुर, घोडाघोडी गौरिगङ्गा लगायत का स्थानमा समेत एमसिसि विरोधी नारा सहितका बेलुन उडाइएको जनाइएको छ ।
यता , नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले लालबन्दीमा एमसीसीविरुद्ध सिट्ठी जुलुस सम्पन्न गरेको छ । सिट्ठी जुलुसपछि कोणसभामा परिनत गरिएको थियो ।
केन्द्रीय सदस्य तथा सर्लाही रौतहट इन्चार्ज मिसन शाही, जिल्ला सेक्रेटरी कमल सुस्लिङ पुर्व जिल्ला सेक्रेटरी जनक राउत, युवा सङ्गठन नेपाल जनकपुर ब्युरो इन्चार्ज बिचारमान, अखिल नेपाल ट्रेडयुनियन महासङ्घका जनकपुर ब्युरो संयोजक पदम मगर ‘बिहानी’, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य किसुनदेब शर्मा, मदेशी मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठगाराम, अनेम सङ्घका जिल्ला अध्यक्ष पर्मिला राउत लामा, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक अर्पण पौडेल, अनेरास्ववियु क्रान्तिकारी रौतहट संयोजक अबिसेक शाही लगायतका नेता र जनताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कोणसभामा केन्द्रीय सदस्य मिसन शाहीले एमसीसी राष्ट्रघाती रहेको र खारेजी गरिनुपर्ने बताए । उनले सम्पूर्ण बामपन्थी, प्रगतिशील, क्रान्तिकारी सबै सचेत नागरिक एमसीसीको बिरोधमा उत्रनुपर्ने बताए । यस्तै सेक्रेटरीले देश बिकाश गर्न अमेरिकी सहयोग नचाहिने र बेरुजु, भ्रष्टाचारलाई मात्र रोक्न सके देश बिकास सहजै गर्न सकिने बताए । उक्त कार्यक्रमको सञ्चालन एनबि थापाले गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले राष्ट्रघाती एमसीसीविरुद्ध सिट्ठी जुलुसपछि कोणसभा सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी गोपाल, पुर्व जिल्ला सेक्रेटरी तथा बिशेष कमिटी सदस्य सशी, युवा सङ्गठन नेपालको जिल्ला अध्यक्ष तेज लामा, हरिहरपुर गढी गाउँपालिका इन्चार्ज कपिल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । सेक्रेटरी गोपालले एमसीसी अमेरिकाको सहयोग नभएर चिनीमा मिसाएर दिएको बीस भएको हुनाले त्यसको खारेजी गरिनुपर्ने बताए । यस्तै सशीले एमसीसी नेपालको हितमा नरहेको र अमेरिकाले नेपाललाई चीनसँग लड्ने भूमिको रुपमा प्रयोग गर्न खोजेको बताए । उक्त सिट्ठी जुलुस कार्यक्रमको सञ्चालन पवनले गरेका थिए ।