युवा सङ्गठनद्वारा तीनबुँदे सहमति कार्यान्वयनको माग: प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा सङ्गठन नेपालले तत्कालिन सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सो सङ्गठनले तीनबुँदे सहमति कार्यान्वयनको दबाब स्वरुप ७७ वटै जिल्ला प्रशासन कार्यालयमर्फत बुधबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । तत्कालिन सरकार र नेकपाबीच गत २१ फागुनमा तीनबुँदे सहमति भएको थियो । सो सहमति पत्रमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो । तर सरकारले नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउनेबाहेक अन्य सहमति कार्यान्वयन नगरेको भन्दै सहमति कार्यान्वयनका लागि सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।

यसैक्रममा सो सङ्गठनको कपिलवस्तु जिल्ला कमिटीले २०७७ फागुन २१ गते तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको दबाब स्वरुप बुधबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउनु अघि धर्ना बसि दबाब दिएको युवा सङ्गठन नेपाल कपिलवस्तुले उपरोक्त पत्रमा राजनीतिक आस्थाका आधारमा झुठ्ठा मुद्दाहरू तुरुन्त खारेज गर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाईएका आस्थाका बन्दीहरूलाई निशर्त रिहाई गर्ने र जनमतसङ्ग्रहका उचित वातावरण तयार गर्ने तीन वटा मागहरू समाबेश गरेको युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष सागरले बताए ।
यता , युवा सङ्गठन नेपाल, रूपन्देहीले नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भैरहवामा सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका चौंथो राष्ट्रिय सम्मेलन कार्यालय सदस्य तथा निवर्तमान महासचिव सागरको नेतृत्वमा जिल्ला प्रशासन भैरहवामा सिडियोमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।
युवा सङ्गठन नेपाल रुपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाइएका झुट्ठा मुद्दाहरू तुरुन्त खारेज गर्न, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर्न र जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर्न जोडदार माग गरिएको छ । ज्ञापनपत्र बुझाए पश्चात् जिल्ला प्रशासन कार्यालय अगाडि सङ्गठनका व्यापक नेताकार्यकर्ताको उपस्थितिमा नराबाजीसहत धर्ना दिएको थियो । धर्ना कार्यक्रममा तीनबुँदे सहमति कार्यान्वयन गर, आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर, जनमतसङ्ग्रह घोषणा गर, युवा सङ्गठन नेपाल जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नाराहरू लगाइएको थियो । धर्ना कार्यक्रमपछि भएको कोणसभामा बोल्दै सङ्गठनका चौंथो राष्ट्रिय सम्मेलन कार्यालय सदस्य तथा निवर्तमान महासचिव सागरले ज्ञापनपत्रलाई कागजको खोस्टो बनाएर डस्बिनमा फालिए परिणाम नराम्रो हुने बताए । उनले आस्थाका राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै नेता कार्यकर्तामाथिको झुट्ठा मुद्दा खारेज गर्न माग गरे । त्यसैगरी सङ्गठनका रुपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले आस्थाका बन्दीहरूलाई तत्काल रिहाई नगरे कडा सङ्घर्ष गर्ने बताए । उनले तीनबुँदे सहमति तत्काल कार्यान्वयन गर्न मागसमेत गरे । कार्यक्रममा ओमसोतिया–रोहिणी सेक्रेटरी शिशिर, सिद्वार्थ नगरपालिका सेक्रेटरी जसवन्त, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य खोमा तरामु मगर, नेकपा माओवादी केन्द्र समाजवादीका नेता विनोद उपाध्याय, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्ला उपाध्यक्ष उषा पाठक लगायतको सहभागिता रहेकोे थियो ।

यसैगरी , युवा सङ्गठन नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनले तीनबुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो । युवा सङ्गठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच गत २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्यनको माग गर्दै सहायक सिडियो जोरासिंह माझीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा लेखिएको छ, “हाम्रो पार्टीले देशमा भएका संस्थागत भ्रष्टाचार तथा बिभिन्न सङ्घ संस्थाहरूले राज्यलाई कर छलीबिरुद्ध कार्य गर्दै आइरहेको क्रममा केपी ओली नेतृत्वको सरकारले पार्टीमाथि २ बर्ष राजनैतिक प्रतिबन्ध लगायो । पार्टीले उठाउँदै आएका राजनीतिक विषयहरू र नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको राजनैतिक प्रतिबन्धका विषयमा नेपाल सरकार र नेकपाको बीचमा पटक–पटक वार्ता बसि दुबै पक्षको सकारात्मक प्रयत्नबाट २०७७ फागुन २१ गते तीनबुँदे सहमति गरि नयाँ राजनीतिक कोर्षको सुरुवात भएको थियो । तीनबुँदे सहमतिमा उल्लेख भएको प्रतिबन्ध फुकुवा गर्ने बाहेक अरू कुनै पनि बुंदाहरू लागू नभएको बताए ।

कुनै पनि राजनीतिक शक्तिसँग राज्यले गर्ने राजनीतिक सहमतिहरूलाई इमान्दारिताका साथ लागू गर्नुपर्दछ । अन्यथा राज्यप्रतिको अविश्वास बढ्दै जाने र विगतमा भएका सम्झौताहरू राज्यद्वारा उलङ्घन गर्दै आएको इतिहासको परिणाम स्वरूप तीनबुँदे सहमति कार्यान्वयनमा देखा परेको ढिलासुस्ती गरेको खोजेको सङ्गठनले आरोप लगाएको छ । ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टा मुद्दाहरू तुरुन्त खारेज गर, राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर, जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर जस्ता तीनबुँदे माग उल्लेख गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीनबुँदे सहमतिलाई कार्यान्वयन गरिएन भने अन्य सङ्घर्षका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै सहायक सिडियो माझीले नेकपाकासँग भएको तीनबुँदे सहमति कार्यानयनका लागि गृहमन्त्रालयको निर्देशन अनुसारनै जस्तोसुकै अवस्था एवम् हरबखत नेताकार्यकर्ता रिहाइ गर्ने प्रतिबद्धता जनाएको पार्टीका जिल्ला सदस्य एवम् बर्दघाट नगर इन्चार्ज प्रतापले जानकारी दिए ।
यता, युवा सङ्गठन अछामले जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच २०७७ फागुन २१ गते भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न दबाव दिनका लागि सङ्गठनको केन्द्रीय नीति अनुसार ज्ञापनपत्र बुझाइएको हो । नेपाल सरकार र नेकपाबीच भएको सम्झौता पूर्ण रुपमा कार्यान्वन नभएकाले सहमति कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाइएको हो । तीनबुँदे सहमति भएको ८ महिना हुन लाग्दा पनि नेपाल सरकारले सहमति कार्यान्वयनमा कुनै चाँसो देखाएको छैन । नेपाल कम्युनिस्ट पार्टीका झन्डै ९० भन्दा बढी नेता तथा कार्यकर्ता अझैँ पनि जेलमा रहेका छन् । तीनबुँदे सहमतिमा उल्येख भएको प्रतिबन्ध फुकुवाबाहेक अन्य कुनै बुँदा क्रियान्वयन भएका छैनन् । युवा सङ्गठन नेपाल जिल्ला सङ्गठन समिति अछामका सचिव कुमार क्षेत्रीको नेतृत्वमा गएका युवाहरूले प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल समक्ष ज्ञापनपत्र बुझाएर प्रसाशन कार्यालय अगाडि केही समय धर्ना बसेका थिए ।

ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाइएका झुट्टा मुद्दाहरू खारेज गर, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निसर्त रिहा गर, जनमतसङ्ग्रहको लागि उचित वातावरण निर्माण गर लगायतका मागहरू उल्लेख गरिएको छ ।
यसैगरी , युवा सङ्गठन नेपाल, कञ्चनपुरले आफ्नो पार्टी र नेपाल सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै बुधबार कञ्चनपुरको जिल्ला प्रशासन गेटमा धर्ना बस्नुका साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पनि बुझाएका छन् । तत्कालीन केपी शर्मा ओलीको सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग तीनबुँदे सहमति गर्दै पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा, झुट मुद्दा खारेज र आस्थाका बन्दीहरू रिहाई लगायतका तीन बुँदामा सहमति गरेको थियो । तर उक्त सहमति गरेको करिब ८ महिना बितिसक्दा पनि कार्यान्वयन नगरेको आफूहरू सङ्घर्षको कार्याक्रम घोषणा गर्न बाध्य भएको युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य भुवन कुँवरले जनाएका छन् ।

सो तीनबुँदे सहमतिलाई अहिलेको देउवा सरकारले यथासिघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै बुधबार देशैभरि युवा सङ्गठनले प्रत्येक जिल्लामा ज्ञापनपत्र सहित धर्ना कार्यक्रम गरेको छ ।
यसैगरी , युुवा सङ्गठन नेपाल पाल्पाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणको नेतृत्वमा गएको टिमले ज्ञापनपत्र बुझाएको हो ।

ब्युरो इन्चार्ज विश्लेषणले सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति पत्र वाचन गर्दै सहमतिप्रति राज्यपक्ष उदासिन भएको भन्दै यो सहमति कार्यान्वयनको निम्ति राज्यपक्षले ढिला गरे परिणाम गम्भीर हुने बताए । उनले राजनीतिक सहमति अनुसार राजनीतिक आस्थाका सम्पूर्ण राजबन्दीहरू जेलबाट नछुट्नु राज्यको उदासीनता भएको बताउँदै मागपत्रलाई गम्भीरता पूर्वक लिनुपर्ने बताए । विश्लेषणले नेकपाका नेता कार्यकर्तामाथि लगाएको झुठा मुद्दाहरू तत्काल खारेज गर्नुपर्नेसमेत बताए । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला अध्यक्ष लिला सारुले गरेका थिए भने कार्यक्रममा तानसेन नगर सेक्रेटरी सुमनलगायत सङ्गठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
यसैगरी , युवा संगठन नेपाल, अर्घाखाँचीले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा ३ बुँदे सहमति इमान्दारीतापूर्वक कार्यन्वयन गर्न माग गरेको छ । बुधबार प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रमसहित जिल्ला प्रशासन कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै ३ बुँदे सहमतिलाई इमान्दारितापूर्वक लागु गर्न, आस्थाका बन्दीहरुलाई निसर्त रिहाई र जनमत संग्रहको माग गर्दै आन्दोलन समेत गरेको युवा संगठन नेपाल, अर्घाखाँचिका सचिव मनोज अधिकारीले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जिल्लाबाट हुने सहमति अनुसारको काम भइसकेको, बाँकी संघिय सरकारको निर्णयबाट हुने काम बाँकी रहेको बताउँदै ज्ञापन पत्रलाई श्री प्रधानमन्त्रीको कार्यालय सिहंदरबार काठमाडौँसम्म पु¥याउने प्रतिबद्धता गरेका छन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता नविन खड्काले २ महिनामा सखाप पार्छौँ भन्नेहरुले २ वर्षसम्म केही गर्न नसक्दा बाध्य भएर प्रतिबन्ध फुकुवा गरेको बताउँदै जुन तीन बुँदे सहमति सरकारले अहिलेसम्म पालना नगरेको बताएका छन् । पार्टीसंग भएको ३ बुँदे सहमति र राजनीतिक आस्थाका भरमा थुनिएका हाम्रा नेता तथा कायकर्तालाई बिना सर्त स–सम्मान रिहाई गर्न माग गर्दै यदि ३ बुँदे सहमति अक्षरंस पालना नगरेमा फेरि नेपाली जनताले बिद्रोह गर्ने बताएका छन् ।
यसैगरी, , युवा संगठन दाङले जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्नासहित ज्ञापनपत्र पेश गरिएको बताइएको छ । संगठनले झन्डै एक घण्टा प्रशासन कार्यालयको अगाडि धर्ना समेत दिएको थियो ।युवा संगठन नेपाल दाङले बुधबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना पश्चात् प्रशासन कार्यालयका सहायक प्रमुखमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाडौँलाई ज्ञापनपत्र पेश गरेको हो । ज्ञापनपत्रमा संगठनले तीन बुँदे मागहरु उल्लेख गरेको छ ।

राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दाहरु खारेज हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरुलाई निसर्त रिहाइ गर्नुपर्ने र जनमतसंग्रहका लागि उचित वातावरण तयार गर्नुपर्ने मागहरु रहेका छन् । यस्तै ज्ञापनपत्रमा राजनीतिक सहमतिलाई लत्याउदै राज्यले दमनको चक्र चलाउने नीति अख्तियार गरे यसले देशलाई द्वन्दमा धकेल्ने निश्चित रहेको स्पष्ट उल्लेख गरिएको छ । युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तुलसी चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्र युवा संगठन नेपालका राप्ती ब्यूरो इन्चार्ज तिलकले पेश गरेका थिए । यस्तै राप्तीका सबै जिल्लाहरुमा संगठनले जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापनपत्र पेश गरेको इन्चार्ज तिलकले जनाएका छन् ।
यता , युवा संगठन नेपाल डोटीले जिल्ला प्रशासन कार्यालय डोटीमा ध्यानाकर्षण पत्र बुझाएको छ। डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी ध्रुव ओली जिल्ला कमिटी सदस्य विद्रोही युवा संगठन नेपाल डोटीका संयोजक सुशील मलासी, दीपक ,कैलाश, ममता लगायतको टोलिले नेपाल सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति अविलम्ब कार्यन्वयन गर्न दबाबस्वरूप सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन्। बुधबार नै नेपाल कम्युनिष्ट पार्टी डोटीको टोलीले जिल्ला प्रशासन कार्यालय डोटीअगाडि धर्ना दियको छ । जिल्ला सेक्रेटरी ध्रुव ओलीको नेतृत्वमा तीन बुँदे सहमती कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले साङ्केतिक रूपमा धर्ना दिएको सेक्रेटरी ओलीले जानकारी दिए।
यता , युवा संगठन सर्लाहीले प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापनपत्र बुझाएको छ । संगठनको केन्द्रिय कार्यक्रम अनुसार गत फागुन २१ गते केपी नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमति मध्ये प्रतिबन्ध फुकुवा बाहेक अन्य सहमति कार्यान्वयन नभएको भन्दै संगठनले दबाब स्वरूप आज देशभर ज्ञापनपत्र बुझाएको जनाएको छ । सबै नेताकार्यकर्तालाई अझै रिहाई नगरेको, झुठ्ठा मुद्या खारेजी लगायत अन्य सहमति कार्यान्वयन नगरेको युवा संगठनले जनाएको छ । जनकपुर ब्यूरोमा राजन बस्नेत, आदम कवाडी लगायत २२ जना नेता कार्यकर्ता बन्दी जीवन बिताइरहेको बताएको छ । उक्त ज्ञापनपत्र सिडिओ कार्यलयमार्फत प्रधानमन्त्री कार्यलयमा पुर्याउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोसँग भएको भेटमा पत्रलाई प्रधानमन्त्री कार्यलयमा पठाउने प्रतिबद्धता गरिएको उल्लेख छ ।

यसैगरी , युवा संगठन नेपाल झापाले सरकारले ३ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवण कुमार तिमिल्सिनामार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत युवा संगठन नेपालका केन्द्रीय सदस्य सुवास राई, जिल्ला संयोजक विज्ञान, जिल्ला सदस्य पुकार, पार्टीका जिल्ला सदस्य अनुकुल लगायतले तीन बुँदे सहमतिप्रति नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेपनि सरकार पनि जिम्मेवार बन्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो । नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको तीन बुंदे सहमतिलाई कार्यन्वयन गरिएन भने यसको प्रभाव राजनीतिक, सामाजिक, आर्थिक लगायतका विषयहरुमा पर्ने कुरा निश्चित रहेको भन्दै राजनीतिक सहमतिलाई लत्याउने दमनको चक्र चलाउने नीति राज्यले लियो भने त्यसले देशलाई द्वन्दमा धकेल्ने निश्चित रहेको युवा संगठन नेपालले ज्ञापनपत्रमार्फत उल्लेख गरेको छ ।

तसर्थ नेपाल कम्युनिस्ट पार्टीसंग गरिएको तीन बुंदे सहमतिलाई राज्य पक्षबाट इमानदारिताका साथ लागू गर्न माग गर्दै तीन बुँदे माग राखेको छ । राजनीतिक आस्थाका आधारमा लगाएका झुट्टा मुद्धाहरु तुरुन्त खारेज गर्न, राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दिहरुलाई निसर्त रिहाई गर्न र जनमत संग्रहका लागि उचित वातावरण तयार गर्न माग गरेको छ ।
यता , युवा सङ्गठन इलामले तत्कालिन सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय इलामसहित देशैभरबाट सरकारलाई एकसाथ ज्ञापनपत्र बुझाइएको युवा सङ्गठन इलामले जनाएको छ ।

सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै युव सङ्गठनले सहमति कार्यान्वयन गर्न माग गरेको हो । युवा सङ्गठनका जिल्ला संयोजक विद्रोहीद्वारा हस्ताक्षिरत ज्ञापनपत्रमा तीनबुँदे माग उल्लेख छ । ज्ञापनत्रमा राजनीतिक आस्थाका आधारमा लगाइएका झुट्ठा मुद्दाहरू खारेज गर्न, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीलाई विनाशर्त रिहाई गर्न र जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर्न माग गरेको छ ।
यसैगरी , युवा संगठन नेपाल कालिकोटले नेकपा र नेपाल सरकार बिच भएको ३ बँुदै सम्झौता कार्यन्वयनको माग गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । युवा संगठनले आफ्नो केन्द्रीय कार्यक्रम अन्तरगत वुधवार कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायमार्फत नेपाल सरकारलाई तीन बुँदे सम्झौता यथाशिघ्र कार्यन्वय गरिनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

युवा संगठन नेपालले राजनीतिक आस्थाका आधारमा लगायतका झुट्टा मुद्दाहरु तुरुन्त खारेज गर्नु पर्ने, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर्नुपर्ने र जनमत संग्रहका लागि उचित वातावरण तयार गर्नुपर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
युवा संगठन नेपाल कालिकोटका अध्यक्ष गोबिन्द बुढा, खाँडाचक्र नगर कमिटी सचिव हस्त विक, युवा संगठन नेपाल कालिकोटका सदस्य कमल विक लगायतका युवाहरुको टिमले जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारी आर्चायलाई ज्ञापन पत्र बुझाएको हो ।
युवा संगठन नेपालले आफ्नो ज्ञापनपत्रमार्फत तीन बुँदे सम्झौता कार्यान्वय गरिएन भने त्यसको प्रभाव राजनीतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा पर्ने निश्चित रहेको भन्दै राजनीतिक सहमतिलाई लत्याउने, दमनको चक्र चलाउने नीति राज्यले लिएमा त्यसले देशलाई द्धन्द्धमा धकेल्ने चेतावनी दिएको छ ।
यसैबिच युवा संगठन नेपाल जाजरकोटले पनि जिल्ला प्रशासन कार्यलय जाजरकोटमार्फत नेपाल सरकारलाई तीन बुँदे सहमति कार्यान्वनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेकपा र नेपाल सरकार बिच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिनका लागि संगठनको केन्द्रीय कार्यक्रम अनुसार ज्ञापनपत्र बुझाएको हो ।
यसैगरी , तीनबुँदे सहमति यथाशिघ्र कार्यन्वयन गर्न माग गर्दै युवा संगठन नेपाल सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युवा संगठन नेपाल सिन्धुपाल्चोकको संयोजक सुमन श्रेष्ठको नेतृत्वमा निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम खनाललाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौँ बोधार्थ गरी बुझाइएको ज्ञापनपत्रमा युवा संगठन नेपालले राजनीतिक आस्थाका आधारमा लगाइएका झुट्टा मुद्धाहरु तुरुन्त खारेज गर्न, राजनीतिक आस्थाका अधारमा बन्दी बनाएका आस्थाका बन्दीहरुलाई निसर्त रिहाई गर्न र जनमत संग्रहका लागि उचित वातावरण तयार गर्न माग गरेको छ ।