पदको लागि बहस चलाएको होइन: भट्टराई

२०७० पुष २३ गते, मंगलवार

काठमाडौ,२३ पुस – एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी र समग्र राज्यको लोकतान्त्रीकरण बारे आफूले चलाएको बहस कुनै पद पाउनका लागि नभएको स्पष्ट पारेका छन् । उनले पार्टी भित्रको बहसमा आफूले कसैसंग कुनै पद नमागेको दावी गरेका छन् । उनले त्यस्तो प्रचारवाजी सरासर गलत, भ्रामक र वदनियतपूर्ण भएको बताएका छन् ।आज एक प्रेस विज्ञप्ती जारी गर्दै भट्टराईले अहिले आफूले सार्वजनिक रुपमा चलाएको बहस कुनै व्यक्ति विशेष वा पदको भागवण्डाका लागि नभएको उल्लेख गरेका छन् ।नयाँ ढंगको पार्टी निर्माण र लोकतन्त्रको नयाँ मोडेलको विकास वारे आफूले लामो समयदेखि निरन्तर रुपमा पार्टी भित्र र सार्वजनिक रुपमा कुरा उठाउँदै आएको उनले जनाएका छन् । उनले कुनै पनि वैचारिक, राजनीतिक र सांगठनिक विषयमा वहस छलफल हुने वित्तिकै त्यसलाई अज्ञात र अदृश्य षड्यन्त्रको सिद्धान्त भन्दै मुख्य मुद्दालाई विषयान्तर गरिदिने पुरानै शासकवर्गीय शैली भएकाले त्यस्तो असैद्धान्तिक, अराजनीतिक र अनैतिक हर्कत नगर्न सम्वन्धित सवैलाई आग्रह गरेका छन् ।
भट्टराईले जारी गरेको प्रेस वक्तव्यको पूर्ण बिबरण यस प्रकार छ – “केही समय यता पार्टी र राज्यको समग्र लोकतान्त्रीकरण वारे भैरहेको सार्वजनिक वैचारिक–राजनीतिक वहसका सन्दर्भमा केही संचार माध्यमहरुमा मैले कुनै पद हासिल गर्न मात्र यसो गरेको भन्ने आसयका समाचार र टिप्पणीहरु आएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वप्रथम, जुनसुकै श्रोतबाट प्रवाहित भएको भए पनि मैले कसैसंग कुनै पद मागेको भन्ने कुरा सरासर गलत, भ्रामक र वदनियतपूर्ण छ र म त्यसलाई पूर्ण रुपले खारेज गर्दछु ।

दोश्रो कुरा, अहिलेको वहस र छलफलको मुख्य मुद्दा लोकतान्त्रिक मूल्य–मान्यता, विधि, प्रणाली र प्रक्रिया स्थापित गर्ने र लागू गर्ने हो, किन्तु कुनै व्यक्ति विशेष वा पदको भागवण्डा किमार्थ होइन । यस सन्दर्भमा मैले लामो समयदेखि नयां ढंगको पार्टी निर्माण र लोकतन्त्रको नयां मोडेलको विकास वारे निरन्तर रुपमा पार्टी भित्र र सार्वजनिक रुपमा उठाउ“दै आएका कुरा पुनः एक पटक सवैलाई स्मरण गराउन चाहन्छु ।

तेश्रो कुरा, कुनै पनि वैचारिक, राजनीतिक र सांगठनिक विषयमा वहस छलफल हुने वित्तिकै अज्ञात र अदृश्य कुनै ‘षड्यन्त्रको सिद्धान्त’ (conspiracy theory) आविष्कार गरेर मुख्य मुद्दालाई विषयान्तर गरिदिने पुरानै शासकवर्गीय शैली भएकाले त्यस्तो असैद्धान्तिक, अराजनीतिक र अनैतिक हर्कत नगर्न सम्वन्धित सवैलाई आग्रह गर्दछु र स्वस्थ राजनैतिक वहसलाई अघि वढाएर नया“ ढंगको लोकतान्त्रिक संस्कार अभिवृद्धि गर्ने कार्यमा योगदान गर्न संचारजगत समेतलाई हार्दिक अनुरोध गर्दछु । ”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु