नेकपाद्वारा देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना : तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब

२०७८ आश्विन १८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै धर्ना दिएको छ । सो पार्टीले तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै धर्ना दिएको हो । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय बबरमहलमा धर्ना दिएको छ । प्रहरीले लगाएको निषेधित क्षेत्रलाई जनमानससहितको र्यालीले तोडेर धर्ना दिएको हो । काठमाडौँ जिल्ला सचिव तुलसीनारायणको नेतृत्वमा आएको र्यालीले निषेधाज्ञा तोडेपछि प्रहरीले ब्यानर खोसेको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट कालो ब्यानरसहितको र्याली आएपछि प्रहरी चकित परेको थियो । जिल्ला प्रशासन कार्यालयबाट आएको र्याली बबरमहलमा पुगेर धर्नामा परिणत भएको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव तुलसीनारायणले विनासर्त सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरे । गैरकानुनी रुपमा पार्टीमाथि प्रतिबन्ध लगाएर तत्कालिन ओली सरकारले दमन गरेको भन्दै पक्राउ परेका सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न उनको माग थियो ।
सरकारसँग सहमति भएको लामो समय भइसक्दा पनि नेता कार्यकर्ता नछोडेको भन्दै नेकपाले धर्ना कार्यक्रमको आयोजना गरेको नेकपा काठमाडौँ महानगरपालिका इन्चार्ज अविरलले बताए । कार्यक्रमको संचालन गरेका अविरलले सहमति कार्यान्वयन नभए सरकारले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्ने चेतावनी दिए ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी कास्कीले तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गर्न र सम्पूर्ण राजबन्दीहरुको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्यलय कास्कीमा पुगि प्रदर्शनसहित धर्ना दिएको हो ।

३ बुँदे सहमति कार्यान्वयन गर, बन्दीहरुको रिहाइ गर, झुठ्ठा मुद्या खारेज गर लगायतका नारा लगाउदै नेपाल कम्युनिस्ट पार्टी कास्कीको आयोजनामा आज जिल्ला प्रशासन कार्यलय कास्कीको गेटमा एक घण्टा धर्ना कार्यक्रम गरेको हो । राज्यले आफ्ना नेता कार्यकर्ताहरुलाई आँफैले बनाएको संविधान विपरीत पक्राउ गर्ने, झुठा मुद्दा लगाउने र जेल हिरासतमा राखेको र राज्यसँग भएको तीन बुदे सहमति कार्यन्वयन नभएको भन्दै नेकपा कास्कीले धर्नासहित प्रदर्शन गरेको र सहमतिलाई सरकारले यथाशीघ्र कार्यन्वयन गर्नुपर्ने माग समेत राखेको बताएको छ ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भैरहवामा दबाबमूलक धर्ना दिएको छ । साथै नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा सिडियोलाई भेटेर तीन बुँदेमा राज्य गम्भीर बन्न अर्थात् नेकपाका सम्पूर्ण बन्दी नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्धा खारेज गरि रिहाइको लागि ध्यानाकर्षण समेत गराइएको नेकपा रुपन्देहीले जनाएको छ । धर्ना कार्यक्रमपछि भएको कोणसभामा बोल्दै नेकपाका नेता शिशिरले तीन बुँदे सहमतिमा राज्य इमान्दार नभएको भन्दै दुख व्यक्त गरे । उनले नेकपा तीन बुँदेमा प्रतिबद्ध रहेको र राज्यले सहमति कार्यान्वयन नगरे देशमा आन्दोलनको आँधीबेरी सल्कने चेतावनी दिए ।

नेकपाका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्धा तत्काल खारेज गरि सबै राजबन्दीलाई यथाशिघ्र रिहाई गर्नुपर्ने शिशिरको माग थियो । शिशिरले जनताको चाहना अनुरुप जनमत संग्रहद्वारा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नु नै अहिलेको सहि विकल्प रहेको बताए । उनले संसदीय व्यवस्था सबै हिसाबले पतन भइसकेको धारणा व्यक्त गरेका थिए । उनले भने– ‘दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गर्नु नै नेपाली श्रमिक जनताको चाहना हो ।’नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, बुद्धिजीवी, व्यापार, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रममा तीन बुँदे सहमति कार्यान्वयन गर !, झुटा मुद्धा खारेज गर !, सम्पूर्ण राजबन्दीलाई रिहाई गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वीर सहिदहरू लाल सलाम !, एमसीसी खारेज गर !, जनमत संग्रहको घोषणा गर ! लगायतका नाराहरू समेत लगाइएको थियो ।गत फागुन २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच तीन बुँदे सहमति भएको थियो । तर राज्यले ३ बुँदे सहमति कार्यान्वयन गरेको छैन । नेकपाका थुप्रै नेताकार्यकर्ता अझै पनि जेल र हिरासतको जीवन बिताइरहेका छन् ।
यसैगरी , नेपाल कम्यूनिष्ट पार्टी गोरखाले तीन बुँदे सहमति कार्यान्वयन गर भन्ने मूल नाराका साथ धर्नासहित कोणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी गोरखा जिल्ला सेक्रेटरी कपिल भट्ट प्रतिक अतिथिहरु पार्टी जिल्ला सदस्य विष्णु रिजाल, क्षितिज गुरुङ, कृष्ण पन्त रहेका थिए ।


प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी गोरखा जिल्ला सेक्रेटरी कपिल भट्टले सरकार र नेपाल कम्युनिष्ट पार्टी बिचको तीन बुँदे सहमतिको कार्यान्वयन गर्न, सम्पूर्ण राजबन्दीहरुको रिहाई गर्न र झुटा मुद्दा खारेज गर्न सरकार प्रतिबद्ध नरहेको भन्दै उक्त प्रतिबद्धताप्रति सरकार गम्भीर हुन आग्रह गरेका छन् । उनले उक्त सहमति देउवा सरकारले उल्लंघन गर्दै पार्टीका कार्यकर्ताहरुलाई पुन मुद्दा लागाइ पक्राउ पुर्जी टाँस्न थालेको भन्दै सरकारको चरित्र उदाङ्गो भएको बताए । नेता भट्टले देशको राष्ट्रिय स्वाधीनतामाथि राष्ट्रघाती सम्झौता लादेर देशलाई रणभूमि बनाउन सरकार उद्यत भएको समेत बताएका हुन् । उनले यस्ता राष्ट्रघाती एमसीसी सम्झौता गरी दल र दलाल संसदीय व्यवस्था पाल्न खोज्ने सपना नदेख्न र नेपाल कम्युनिष्ट पार्टी बिच भएको तीन बुँदे सहमति अक्षरस पालना गर्न समेत चेतावनी दिएका हुन् ।
त्यसैगरी धर्ना कार्यक्रममा बोल्दै गोरखा जिल्ला सदस्य विष्णु रिजालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको तीन बुँदे सहमतिमा सरकार गम्भीर नरहेको भन्दै उक्त सहमतिप्रति कटिबद्ध भइ पालना गर्न र राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न चेतावनी दिएका हुन् ।
यसैगरी , नेपाल कम्युनिष्ट पार्टी डोटीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार देशभरीका जिल्ला प्रशासन कार्यालयहरूमा तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिइएको हो। २०७७ फागुनमा तत्कालीन सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग तिनबुँदे सहमति गर्दै पार्टीमाथिको प्रतिबन्ध खारेज गर्ने, गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर्ने र नेताकार्यकर्तामाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति गरेको थियो। सहमति भएको करिव आठ महिना पुगिसक्दा पनि सरकारसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

शान्तिपूर्णरूपमा राजनितिक कार्यक्रम गरिरहेको शक्तिलाई सहमति कार्यान्वयन नगरेर युद्धमा धकेल्ने प्रयत्‍न भइरहेको बताउँदै पार्टीले विरोध जनाएको हो। सहमति कार्यान्वयन गरी राजनैतिक एजेण्डाहरूमा वार्ता सम्वाद गर्ने वातावरण निर्माण गर्नुको सट्टा झुट्टा मुद्धा लगाउने क्रम फेरी बढाएको, गिरफ्तार दमन धरपकड बढाएको विरूद्ध देशव्यापी रूपमा धर्ना कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रम अन्तर्गत डोटीमा समेत धर्ना दिइएको पार्टी जिल्ला सेक्रेटरी ध्रुव ओलीले जानकारी दिए।धर्ना कार्यक्रममा जिल्ला इन्चार्ज प्रशान्त,जिल्ला सेकेटरी ध्रुव ओली लगायत जिल्लास्तरका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
तसैगरी , नेपाल कम्युनिष्ट पार्टी कालिकोटले नेपाल सरकार र आफ्नो पार्टी बिच गत फाल्गुन २१ गते भएको ३ बुँदे सहमतिलाई यथासिघ्र कार्यान्वयनका लागि ध्यानाकर्षण गर्न जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरि आज ज्ञापनपत्र पेश गरिएको छ । जिल्ला सेक्रेटरी रणदिपको नेतृत्वमा गएको ११ जनाको टोलीले उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी श्री कृष्ण आचार्यसमक्ष पेश गरेको थियो ।

उक्त ज्ञापनपत्रमा अघिल्लो केपी ओली सरकारसँग गरिएको तीन बुँदे सहमति व्यक्तिसँग नभइ संस्था वा राज्यसँग गरिएकाले वर्तमान सरकारले कुनै पनि बाहाना बाजीमा विनासर्त जेलमा रहेका राजबन्दीहरुको रिहा, झुठ्ठा मुद्दा खारेज र सहमतिको पालनामा जोड दिएको छ । ज्ञापन पत्रमा भनिएको छ, आफ्नो पार्टी हालको अवस्थासम्म ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दार छ तथापी सरकारी पक्ष उदासिन भए फेरि नेपालको राजनीतिले नयाँ मोड लिन सक्नेछ ।
नयाँ मोड के हो भन्ने कुरा भने खुलाइएको छैन तर देउवा सरकारले इमान्दारिता देखाएन भने यसको सबै जिम्मा देउवा सरकारले लिनुपर्ने उल्लेख गरेको छ ।

यसैबीच,नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत असोज २० गते देशव्यापी प्रदर्शन कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]