नेकपा मकवानपुरको जिल्ला सम्पर्क कार्यालय उद्घाटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सम्पर्क कार्यालय उद्घाटन गरेको छ। एक उद्घाटन कार्यक्रमको आयोजना गरी नेकपा मकवानपुरले आज (सोमबार) हेटौँडा उपमहानगरपालिका, जरुवा टोलमा पार्टी कार्यालय उद्घाटन गरेको हो।
दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्दै गर्दा नेपाल सरकारबाट प्रतिबन्धित हुनुपर्यो। दुई वर्षे प्रतिबन्धित कालमा जनतासँग आन्तरिक सम्पर्क भएता पनि खुल्ला सम्पर्क टुटेको थियो। हाल समाज र देशमा व्याप्त विभिन्न किसिमका विकृति र विसँगतिद्वारा आमा नेपाली जनता आकुल व्याकुल भइरहेका छन्। जनताका आधारभूत आवश्यकता जनताका पहुज भन्दा बाहिर पुगेको छ। स्वास्थ्य, शिक्षा लगायतका विषयहरू जनताका हातमा छैनन्। यस अवस्थामा समस्याहरूको समाधानको पहलका लागि पार्टी र जनता बीचको आपसी सम्बन्ध कायम राख्न नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सम्पर्क कार्यालय खोलेको हो। कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले जस्तोसुकै समस्या आएतापनि अब कुनै हिचकिचहाट नराखी सिधै पार्टीको सम्पर्कमा आउन सक्ने बताए। त्यस्तै उनले अब संसदीय व्यवस्था भित्रको चुनावमा होइन वैज्ञानिक समाजवादी व्यवस्था चुन्ने जनमत संग्रहमा जानका लागि तयार हुन आम मकवानपुर बासीलाई आग्रह गरेका छन्। जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरुका साथै मकवानपुरे जनताको उपस्थिति रहेको थियो।