तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै देशव्यापी रुपमा दबाबमूलक प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै बुधबार देशब्यापीरुपमा दबाबमूलक प्रदर्शन गरेको छ ।
यसैक्रममा , नेपाल कम्युनिस्ट पार्टी चितवनले राष्ट्रघाती एमसीसी सम्झौतका विरुद्ध र नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार भरतपुरको चौबिसकोठीमा भएको विरोध प्रदर्शन पछिको विरोध सभामा बोल्दै नेकपा चितवनका विशेष कमिटी सदस्य उत्सवले राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता देशभक्त जनताको विरोधका बाबजुत पनि दलालहरूले पारित गर्न लागेको भन्दै आक्रोश व्यक्त गरे । उनले एमसीसी सम्झौता पारित भए देश भारत र अमेरिकाको क्रिडा स्थल बन्नुका साथै चीन विरोधी गतिविधि गर्ने क्षेत्र बन्ने र अन्तमा रणमैदानमा परिणत हुने भन्दै आफूहरूले कुनै पनि हालतमा पारिन हुन नदिने बताए ।
त्यसैगरी विरोधसभामा बोल्दै नेता उत्सवले नेकपा र सरकारबीच भएको तीनबुँदे सहमतिमा राज्य इमान्दार नभएको भन्दै दुःख व्यक्त गरे । उनले नेकपा तीन बुँदेमा प्रतिबद्ध रहेको र राज्यले सहमति कार्यान्वयन नगरे देशमा आन्दोलनको आँधीबेरी सल्कने चेतावनी दिए । नेकपाका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्दा तत्काल खारेज गरि सबै राजबन्दीलाई यथाशिघ्र रिहाई गर्नुपर्ने नेता उत्सवको माग थियो । उनले जनताको चाहना अनुरुप जनमत संग्रहद्वारा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नु नै अहिलेको सहि विकल्प रहेको बताए । उत्सवले संसदीय व्यवस्था सबै हिसाबले पतन भइसकेको धारणा व्यक्त गरेका थिए । उनले भने– ‘दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गर्नु नै नेपाली श्रमिक जनताको चाहना हो ।’

नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, बुद्धिजीवी, व्यापार, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रममा तीनबुँदे सहमति कार्यान्वयन गर !, झुटा मुद्दा खारेज गर !, सम्पूर्ण राजबन्दीलाई रिहाई गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वीर सहिदहरू लाल सलाम !, एमसीसी खारेज गर !, जनमतसङ्ग्रहको घोषणा गर ! लगायतका नाराहरू समेत लगाइएको थियो ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी इलामले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै दबाबमुलक प्रदर्शन गरेको छ । प्रदर्शन पछिको विरोध सभालाई नेकपा इलामका सचिव मौसमले सम्बोधन गरेका थिए । उनले आफ्नो पार्टी तीनबुँंदेप्रति इमान्दार भएपनि सरकारले बैमानी गरिरहेको बताए । उनले भने– “जनताको सङ्घर्षको बलमा तीनबुँदे भएको हो, राज्य यदि कार्यान्वयनको निम्ति तयार नहुने हो भने जनताकै सङ्घर्षको बलमा यो कार्यान्वयन हामी गरांउछौँ र यसले यो सत्तालाई कहाँ पुर्यांउछ हेक्का राख्नु पर्छ ।”
बन्दी रिहाइ र मुद्दा खारेजी नै प्रथम कुरा रहेको भन्दै त्यसपछि वार्ताका अरू कुरा हुने र सरकारले सहमति कार्यान्वयन गरेर आंफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्नुपर्ने उनले बताए । मौसमले भने– “पार्टीलाई दबाबमा राख्ने, गलाउने जस्ता सपना देखेको हो भने सत्ताको यो दिवा सपना हो । हामी बलिदान गर्छौँ तर जनताका मुद्दाहरूबाट एकसुता टसमस हुने छैनौँ ।”
यसैगरी , तीन बुँदे सहमति कार्यन्वनका लागि दबाव स्वरुप आज सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको आयोजनामा भएको विरोध प्रदर्शन कार्यक्रममा तीन बुँदे सहमति कार्यन्वयन गर, सम्पूर्ण राजबन्दी रिहा गर, झुटा मुद्दा खारेज गर, एकीकृत जनक्रान्ति जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दवाद जस्ता नारा लगाइएको थियो ।

कार्यक्रममा प्रमुख वक्ता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी युगीनले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी र सरकार बिच भएको तीन बुँदे तत्काल कार्यन्वयन गर्न देउवा सरकारलाई आग्रह गरे । अहिले पनि तीन बुँदे सहमति विपरित नेकपाका नेता कार्यकतामाथि झुठ्ठा मुद्या लगाउने, पक्राउ पुर्जी टास्ने जस्ता हकर्त गरिरहेको भन्दै यसलाई तत्काल बन्द गरि सहमतिको पालना गर्न पनि आग्रह गरे । एमसीसी राष्ट्रिय हितमा नभएकोले तुरुन्त यसलाई खारेज गर्नुपर्ने बताए । यदि तीन बुँदे सहमति कार्यन्वयन नगरे कडा संघर्ष गर्ने चेतावनी दिए । नेपाल कम्युनिस्ट पार्टीले जनतालाई गोलबन्ध गर्दै यो दलाल संसदीय व्यवस्थाको विरुद्ध संघर्ष गरेर वैज्ञानिक समाजवाद ल्याउने चाहेको बताए । कार्यक्रमको सन्चालन जिल्ला विशेष कमिटी सदस्य मुकुन्द श्रेष्ठले गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी दोलखाले ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन सम्पन्न गरेको छ । विरोध प्रदर्शन बसपार्कबाट सुरु भएर सातदोबाटो बिच बजार हुँदै पशुपति डाडा परिक्रमा गरी सातदोबाटोमा पुगि कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै दोलखा जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य विशाल जिरेलले दलाल सरकारले राजबन्दीहरुलाई तत्काल रिहाइ नगरिएको खण्डमा आउने आधिबेहरी आन्दोलनको सामना यो दलाल राज्यले गर्नुपर्ने बताए । साथै उनले दुई प्रकारको शिक्षा प्रणालीको अन्त्य गरि समान शिक्षा लागू गर्नुपर्ने बताए ।

कोणसभामा बोल्दै जिल्ला समिति सदस्य तथा जनसत्ता प्रमुख ज्ञान बहादुर खड्का उजिरले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्ती नहुन्जेल लडिरहने उद्घोष गरे । अअिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जित थामीले मजदुरहरुको हकहित प्राप्त नहुनजेलसम्म संगठनको तर्फबाट लडिरहने बताए । त्यसैगरी जिल्ला समिति सदस्य राजकुमार लामिछानेले सम्पूर्ण राजबन्दीहरुलाई यो सरकारले बिनासर्त रिहाई गर्नुपर्ने बताए ।
कोणसभामा बोल्दै जिल्ला समिति सदस्य सोम पाख्रिनले राजबन्दीहरुलाई रिहाई गर्नुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने र एनसेलले अझै पनि कर तिर्न नमाने झन् ठूलो परिणाम भोग्नुपर्ने बताए । कोणसभामा अखिल नेपाल (क्रान्तिकारी) किसान महासंघका जिल्ला अध्यक्ष एवम् पार्टीका जिल्ला समिति सदस्य गोपाल उप्रेती, मेनुका उप्रेती र कर्ण बहादुर थामी लगायतको उपस्थिति रहेको थियो । कोणसभाको सञ्चालन जिल्ला समिति सदस्य भरत थामीले गरेका थिए ।
यसैगरी , नेकपा कम्युनिस्ट पार्टी नवलपरासीले बर्दघाटमा बिरोध सभा सम्पन्न गरेको छ । तीनबुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप बर्दघाटमा कोणसभा गरेको हो । कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता रामप्रीतले जेल र हिरासतमा भएका सम्पूर्ण नेताकार्यकर्तालाई तीनबुँदे सहमति अनुसार रिहाई गर्नुपर्ने माग गर्दै अब भ्रष्टाचारी कमिसन खोरीका दिन गएको बताए । उनले भ्रष्टाचार कमिसनका गुनासा आएको हामीले जहाँको त्यही कारवाही गर्न चेतावनी दिँदै भ्रष्टाचारबिरुद्ध जनतानै लाग्नुपर्ने बताए । यो व्यवस्थाले जनताको अघिकार भोट हाल्ने मात्रै बनाएकोले चुनाव लड्न लाखौँ खर्च गर्ने जनप्रतिनिधिहरू नीतिगत भ्रष्टाचार र दलाली बनेको नेता रामप्रीतले बताए । उनले लोकतन्त्र चुनावका कुरामा रमाउने पार्टी व्यक्ति होइन व्यवस्थाबीच जनमतसङ्ग्रहमा जानसमेत आनाकानी गरेको आरोप लगाए । साथै उनले जनताको अधिकार वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन भन्दै संयुक्त प्रगतिशील सरकार बनाई जनमतसङ्ग्रह गर्न अपिलसमेत गरेका थिए ।

त्यसैगरी गणेश ढकालले नेकपालाई तत्कालीन ओली सरकारले फरक बिचार सहित दलाली भ्रष्टाचार र कमिसन बिरुद्ध लागेकै कारण पार्टीमाथि प्रतिबन्ध लगाएको बताए । उनले तीनबुँदे सहमति भएको ७ महिना बितिसक्दा पनि सहमति लागू गर्ने यो सरकारनै गैरजिम्मेवारी बन्न खोजेको र सहमतिबाट पछाडी हट्दै राज्यको र जनताका लागि आवश्यक नभएको एमसीसी लागू गर्न खोजेको आरोप लगाए । ढकालले अमेरिकी सहयोग एमसीसीमार्फत नेपालमा युद्धको भुमरिमा लागिपरेको हुनाले खारेजीको माग गर्दै सहमतिको यथासिघ्र लागू गर्न माग गरे । यस्तै बर्दघाट नगर कमिटी सदस्य गणेश पाठकले पार्टी सदैव बिकृति बिसङ्गतिबिरुद्ध लाग्ने बताए ।
कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य लोकमानले गरेका थिए । गत १८ गते प्रशासन कार्यालय अगाडि धर्ना एवम् कोणसभा गरेको थियो । सोही अनुसार नेकपाले बुधबार देशव्यापी कोणसभा आयोजना गरेको छ ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच गत फागुन २१ मा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेर आस्थाका बन्दीहरूलाई रिहाइको माग गर्दै नेकपा अर्घाखाँचीले बिरोध प्रदर्शन कार्यक्रम गरेको छ । उक्त बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता चिन्तनले हामीलाई राष्ट्रियताको पक्षमा आवाज उठाउँदै गर्दा, गरिब दुःखीको पक्षमा बोल्दै गर्दा, बलत्कारीलाई कारवाहीको माग गर्दै गर्दा, भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै गर्दा, एनसेलले कर तिर्नुुपर्छ भन्दा हामीलाई प्रतिबन्ध लगाएको बताए । उनले प्रतिबन्धको नेपाली जनताले प्रतिकार गर्दै गर्दा २ वर्ष पछि तीनबुँदे सहमति अनुसार फुुकुवा गर्न बाध्य भएको थियो तर सहमति बमोजिम सरकारले सहमति कार्यान्वयन नगरेको बताए । चिन्तनले सरकारले हाम्रा आस्थाका बन्दीहरूलाई रिहाइ नगरे फेरी पनि जनताले प्रतिरोध गर्ने बताए ।

यस्तै नेकपाका भुनपा र सनपा नगर इन्चार्ज नविन खड्काले हाम्रा राजबन्दीहरूलाई रिहाइ नगरे हाम्रो पार्टीले जस्तो सुकै कदम चाल्ने बताएका छन् । उनले यो दलाल सरकारले आम नेपाली जनताको पक्षमा काम गर्न नसकेकोले यो ब्यबस्था असफल भएको पुष्टि भएको बताए । खड्काले अब यो ब्यबस्थाको विकल्पमा एक मात्र ब्यबस्था वैज्ञानिक समाजवादी ब्यबस्था रहेको हुँदा सम्पूर्ण नेपाली जनता लामबद्ध भएर यसको पक्षमा लाग्नुपर्ने बताए । उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बाबुराम एसकेले सञ्चालन गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी अछामले तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधबार जिल्लाको मंगलसैन बजारमा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा विशाल र्याली निकालिएको थियो । नेकपाको पार्टी कार्यालयबाट शुरु भएको र्याली बजार परिक्रमा गरी बिच बजारमा कोण सभामा परिणत भएको थियो । तीन बुँदे सहमति कार्यान्वयन गर, झुट्टा मुद्दा खारेज गर, राजबन्दी रिहा गर, लगायतका नाराहरु लेखिएको ब्यानरसहित उपस्थित कार्यर्ताले नाराबाजी गरेका थिए ।

कोण सभामा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले यो देशलाई दीर्घकालीन शान्ति र आमूल परिवर्तन चाहिएकोले यो कुरा दलाल संसदीय व्यवस्थाबाट सम्भव नहुने बताए । उनले देशमा बढिरहेको भ्रष्टाचार, महंगी, कालोबजारी, तस्करी , करछली र वैदेशिक हस्तक्षेपको विरोध गर्दा दलाल सरकारले आफूहरूमाथि प्रतिबन्ध लगाएको पनि बताए । आफूहरु हारेर थाकेर वार्तामा नआएको तर नेपाली जनताले आह्वान गरेको हुँदा आउँनु परेको कुरा स्पष्ट पारे । उनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए दलाल सरकार र त्यसका मतियारहरुले गोलिको आवाज सुन्न बाध्य हुनुपर्ने चेतावनी दिए । नेपाली भूमि कालापानी, लिपलेक, लिम्पियाधुरामा नेपाल सरकारले जनगणना नगरेकोप्रति आपत्ति जनाउँदै कडा सँघर्ष गर्ने चेतावनी समेत दिए ।
उक्त सभामा अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य तथा कार्यालय सचिव लोकेन्द्र बहादुर शाहीले नेपालमा संसदीय व्यवस्था असफल भइसकेको यसको विकल्प वैज्ञानिक समाजवाद भएको हुँदा वैज्ञानिक समाजवादका लागि जनता आतुर रहेको कुरा बताए । त्यसका लागि संयुक्त प्रगतिशील सरकारमार्फत जनमत संग्रहमा जानुपर्ने बताए । उक्त कोण सभाको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले गरेका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जिल्लाको सदरमुकाम गाईघाटमा तीन बुँदे सहमति कार्यान्वयन, सम्पूर्ण राजबन्दीको रिहाइ तथा एमसीसी सम्झौता खारेजीको लागि र्याली सहित विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै नेकपा उदयपुर जिल्लाका कार्यालय सचिव दुर्गा तामाङले तीन बुँदे सहमति कार्यान्वयन तथा एमसीसी सम्झौता खारेजीको माग गरेका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्ला कार्यालय सचिव दुर्गाले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति इमानदारीपूर्वक कार्यान्वयन गर्न माग गरे । नेता दुर्गाले आफूहरू इमानदारीपूर्वक सहमति अनुसार अघि बढेको तर राज्य सहमतिप्रति इमान्दार नबनेको बताए । उनले सहमति अक्षरस पालना गरि सम्पूर्ण राजबन्दी रिहाइ नगरे आफूहरूले कडा सङ्घर्ष गर्ने चेतावनी दिए ।
यसैगरी , नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले तीन बुँदे सहमति कार्यान्वयन तथा राजनीतिक आस्थाका बन्दीहरुको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधबार गोरुसिङेमा भएको उक्त विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुका जिल्ला सचिव कमल केसीले सम्बोधन गर्दै फागुन २१ गते नेपाल सरकार र आफ्नो पार्टी नेकपाबीच भएकाे ३ बुँदे सहमति कडाईपूर्वक लागु गर्न सरकारलाई आग्रह गरे । उक्त सहमति अक्षरस पालना नगरे आफुहरुले कडा संघर्ष गर्ने चेतावनी दिए ।

एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पास गर्ने दुस्साहस नगर्न र सम्पूर्ण नेपाली जनताहरु एमसीसीको विरुद्ध रहेको र जनताका विरुद्धमा फैसला गर्ने मुर्खता नगर्न चेतावनी समेत दिए । एनसेलले अझै अर्बौं कर नतिर्दा दलका नेताहरू बोल्न नसकेको र अझ एमसीसीको ५० करोड डलर ल्याएर कमिसन खाने खेलमा लागेको उनको दाबी थियो ।
प्रदर्शन कार्यक्रममा तीन बुँदे सहमति कार्यान्वयन गर, कालोबजारी बन्द गर, महङ्गी नियन्त्रण गर, एमसीसी खारेज गर, एकीकृत जनक्रान्ति जिन्दावाद, नेकपा जिन्दावाद जस्ता नाराहरु लगाएका थिए । उक्त कार्यक्रममा नेकपा नेता तथा बिजयनगर गाउँपालिका इन्चार्ज प्रताप, युवा संगठन नेपाल जिल्ला अध्यक्ष सागर, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञान, युवा संगठन लुम्बिनी ब्युरो सदस्य बादल, थारु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय संयोजक संघ प्रसाद थारु लगायतको उपस्तिथिती रहेको थियो । कार्यक्रमलाई शिवराज नगरपालिका इन्चार्ज पावेलले सहजीकरण गरेका थिए ।