लाखौको मल चोरीमा अख्तियारद्वारा छानबिन सुरु

२०७० पुष २५ गते, बिहीबार


विराटनगर, २५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले विराटनगरस्थित कृषि सामग्री संस्थानको गोदामबाट ढुवानीका क्रममा बाटैबाट करिब रु १७ लाख मूल्य बराबरको रासायनिक मलको चोरी भएको घटनाको छानबिन र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।कृषि सामग्री संस्थानबाट सप्तरीको राजविराजस्थित सो संस्थानको जिल्ला कार्यालय गोदाममा ढुवानी गर्ने क्रममा एक ट्रकबाट २५ मेट्रिक टन डिएपी मल गायब भएको थियो ।
रासायनिक मल ढुवानीको जिम्मेवारी लिएको निहारिका ढुवानी सेवाको ना३ख ८२०० नम्बरको ट्रकबाट उक्त मल रहस्यमय ढङ्गबाट चोरी भएको र त्यसको उजुरी अख्तियारमा परेपछि कारबाही अगाडि बढाइएको आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रवक्ता चन्द्र फुयाँलले बताउनुभयो ।
यस सम्बन्धमा ट्रक चालक हलुमान माझी तथा कृषि सामग्री संस्थान राजविराजका कर्मचारीसँग सोधपुछ भइरहेको छ ।
मल बुझाउने सम्बन्धमा किर्ते कागजसमेत गरिएको बताइन्छ ।उता संस्थानको क्षेत्रीय कार्यालयका अनुसार ट्रक चालक माझीको बदमासी देखिएकाले निहारिका ढुवानी सेवाले क्षति व्यहोर्नुपर्ने देखिएको बताइएको छ ।एक महिना अगाडि भएको सो घटनाको कृषि सामग्री संस्थान केन्द्रीय कार्यालयले पनि छानबिन गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु