ज्येष्ठ नागरिकको उपहास
काठमाडौं, २६ पुस,। सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुटको व्यवस्था, मासिक वृद्धभत्तामा वृद्धि गरिनुपर्ने लगायतका माग गर्दै विगत ११ महिनादेखि आन्दोलनरत ज्येष्ठ नागरिक समाजले अहिलेसम्म मागको कुनै सुनुवाइ नभएको गुनासो गरेको छ ।आफ्ना आठबुँदे मागसहित समाजले ११ महिनादेखि यातायात व्यवस्था विभागअगाडि धर्ना दिँदै आएको छ । ज्येष्ठ नागरिकको धर्नामा करिब २४ वटा संस्थाले ऐक्यबद्धता जनाउँदै नियमित कार्यक्रममा साथ दिँदै आएका छन् ।
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सार्थक जनसङ्गीत प्रतिष्ठानले बिहीबार मीनभवनस्थित विभागको कार्यालय परिसरमा एक साङ्गीतिक कार्यक्रमको आयोजना गर्यो । साङ्गीतिक प्रस्तुतिमा कलाकारहरु रामेश श्रेष्ठ, मधु गुरुङ, सङ्गीत सुब्बा, राजेश थापा लगायत सहभागी थिए ।
संयुक्त ज्येष्ठ नागरिक सङ्घर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले अन्तरिम संविधानमा व्यवस्था भएअनुरुप ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाका लागि माग गर्दै ११ महिनादेखि धर्ना दिइँदै आएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे ।
ज्येष्ठ नागरिकलाई कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने, ६० वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकलाई वृद्धभत्ताको व्यवस्था गरिनुपर्ने, कम्तीमा मासिक वृद्धभत्ता तीन हजार रुपैयाँ पुर्याइनुपर्ने लगायतका आठबुँदे मागसहित ज्येष्ठ नागरिक आन्दोलनरत छन् ।