धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित

काठमाडौँ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो । विश्वका १३६ देशका सहर सदस्य रहेको सङ्गठनको १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको जनाइएको छ । विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट धुलिखेल नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका ब्याञ्जूले महासभालाई सोमबार सम्बोधन गरेका थिए। “संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु गौरवको विषय हो”, उनले भने ।
धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलस्समेत सूचीकृत छन् ।