आर्थिक अनियमितताले ग्रस्त बागमती गाउँपालिका, सरोकारवाला बेखबर

काठमाडौं । मकवानपुर जिल्लाका १० वटा स्थानिय तहमध्य बागमती गाउँपालिका पनि एक हो। यो जिल्लाको दक्षिण-पूर्वी क्षेत्रमा पर्दछ। यो प्राकृतिक स्रोतसाधनले भरिपुर्ण भएको पालिका हो। बागमती नदी पनि यसै पालिका भएर बग्दछ। सिन्धुली, रौतहट जिल्लासँग सिमाना जोडिएको यस गाउँपालिका भएर धरान चतरा बाटो पनि बन्दैछ। १० वर्षे जनयुद्ध कालको एक ऐतिहासिक रणभूमि ‘झूर्झुरे’ पनि यसै पालिकामा पर्दछ। यसरी ऐतिहासिक महत्व बोकेको बागमती गाउँपालिका पछिल्लो समयमा भ्रष्टाचार, कालोबजारी र आर्थिक अनियमिताको उर्वरा भूमि बन्दै गइरहेको छ।
सोमबार नेपाल कम्युनिस्ट पार्टी बागमती गाउँपालिका सेक्रेटरी भक्त माझीको नेतृत्वका अनुसन्धान टोली गाउँपालिका पुगेका थिए। अनुसन्धानका क्रममा प्राप्त विवरण अनुसार आर्थिक वर्ष ०७६/७७ अन्तर्गत बागमती गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको कुरा खुलासा भएको छ। यहाँ आ. व ०७६/७७ मा विनियोजन भएर आएको लगभग ७ करोड सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको देखिन्छ। सबै पालिकामा भत्ता वितरण गरिसक्दा पनि बागमती गाउँपालिका चुपचाप बसेकोले आम जनता एकजुट भएर खोजी गर्न थालेपछि पालिकाले भत्ता वितरण त गर्यो तर त्यो रकम कहाँबाट कसरी आयो कुनै स्रोत नखुलेको भेटाएको छ। त्यस्तै यस गाउँपालिकाले यातायातका साधन खरिदमा विना बिल भरपाईको चार करोड खर्च विवरण निकालेको छ। जसअनुसार चार करोड रकम घोटाला भएको देखिएको छ। त्यस्तै एक आर्थिक वर्षमा प्रत्येक वडामा गाउँपालिका बाट ५० लाख बजेट पास हुनेमा वडा नं १,२ र ७ ले ८० लाख खर्च गरेको विवरण पत्ता लागेको छ। प्रत्येक वडाको थप ३० लाखका दरले तीन वटा वडाको जम्मा ९० लाख रकम कहाँबाट कसरी आयो कुनै स्रोत खुलेको छैन। त्यस्तै यस पालिकाले सहिद परिवारका नाममा १०१ जनालाई ७ हजारका दरले र २० जनालाई २० हजारका दरले जम्मा ११ लाख ७ हजार खर्च विवरण निकालेको छ। जुन सम्बन्धित सहिद परिवारका हातमा पुगेको छैन।
यसरी देश विकास र निर्माणका लागि राज्यको ढुकुटीबाट फर्छ्यौट भएको बजेड रातारात घोटाला भइरहेको छ। धारापानी, बिजुलीबत्ती, बाटो निर्माणमा लगानी गर्नुपर्ने रकम केही सरकारी कर्मचारी भनाउँदा दलाल र स्वार्थी नेताका महल, बंगला निर्माणमा खर्चिएको छ। उल्लेखित तथ्याङ्क अनुसार बागमती गाउँपालिकामा लगभग १२ करोड १ लाख ७ हजार रुपैयाँ आर्थिक अनियमितता भएको देखिन्छ। यस्ता जनविरोधी तथा देश विकास विरोधी कालो धन्दामा हालको बागमती गाउँपालिका अध्यक्ष सर्खेस घलान, माओवादी केन्द्र बागमती गाउँ कमिटीका अध्यक्ष अरुण बल, ४ नं वडा अध्यक्ष रहर सिंह थिङ र एफएम स्टेसनका लागि बनेको तर हाल जेसिबि, टिफ्फर जस्ता गाडी पार्किङमा प्रयोग हुँदै आएको भवनका अध्यक्ष सोम बहादुर माझीको मिलेमतो रहेको देखिन्छ।
यसरी नेपाली जनताले देश तथा विदेशमा रहेर दिनरात खुन, पसिना बगाउँदै देश विकासका लागि राज्यको ढुकुटीमा जम्मा गरेको सम्पत्ति जनताका प्रतिनिधि भनाउँदा केही दलाल, भ्रष्टाचारी र स्वार्थी नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि खुलेआम प्रयोग गरिरहेको छ। यसप्रति न कुनै सरोकारवालाको ध्यान केन्द्रित भएको छ न त कुनै समाजवाद नलेखेसम्म आफ्नो पार्टी नै नचल्ने जस्तो भएको पार्टीको ध्यान गएको छ। अख्तियार पनि आखामा पट्टी बाँधेर बसिरहेको छ। प्रशासन बेखबर छ। कहिलेसम्म लोकतन्त्रको नाममा यस्तो लुट तन्त्र मच्चिरहने हो?? यसको जवाफदेही को हुन्छन्। यसरी राज्यको सम्पत्तिमाथि रजाई गर्दै दलाल सरकारको नुनको सोझो गर्ने दलाल भ्रष्टाचारीहरु सरकार प्रति जवाफदेही त नहोला तर जनताप्रति जरूर जवाफदेही हुनुपर्छ। यसको मूल्य एकदिन अवस्य चुकाउनुपर्ने छ।
यस विषयमा प्रशासनको तत्काल ध्यान जाओस् र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याइयोस्। यो संसदीय व्यवस्थामा टासिएका यस्ता राष्ट्रघाती जुकाहरु समयमै छुटाएन भने त्यसले ज्यान समेत लिन सक्छ। जसको मूल्य कालान्तरमा सरकारले बुझाउनै पर्ने हुन्छ।