बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द

काठमाडौं । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम–कोरला जोड्ने सडकखण्ड स्तरोन्नति गर्न अर्को सूचना जारी नहुदाँसम्म विहान र दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानाको काभ्रेभीरमा मर्मतको काम र सवारीसाधन एक साथ चलाउँदा जोखिम हुने भएपछि आवागमन बन्द गर्नुपरेको प्रहरीले जनाएको छ ।
बिहान ७ देखि ११ बजेसम्म र दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिने छ । बेलुकी ७ बजेदेखि विहान ७ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म भने बाटो खुल्ला रहने छ ।