म्याक्स मेडिटेकको पोल खुल्दै !

काठमाडौँ । सरकारी अस्पतालका कर्मचारीलाई कमिशनको जालोमा फसाई आफ्नो ब्यापार चम्काउँदै आएको म्याक्स मेडिटेकको ठगीधन्दाको पोल खुल्न थालेको छ । म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, ट्रमा सेन्टर र मणिपाल अस्पताललगायत देशभरका सरकारीलगायत निजी अस्पतालमा कमसल गुणस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा उपलब्ध गराउँदै आएको तथ्य पुष्टि भएको छ । यसैक्रममा, म्याक्स मेडिटेकले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कमसलस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा बेचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले स्वास्थ्य उपकरण खरिद कार्यमा लाखौ भ्रष्टाचार भएकोले छानबिन गर्न आगह गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । उक्त उजुरीमा म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेती र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका लेखा प्रमुख मनोज बिष्टको मिलेमतोमा प्रचलित नियम कानुनको खिल्ली उडाउँदै अस्पताललाई लाखौँ रुपैयाँ हानी हुने गरी स्वास्थ्य उपकरण खरिद कार्य भएकोले उक्त स्वास्थ्य उपकरण खरिद प्रक्रियामा भएका तमाम कागजात जफत गरी तत्काल छानबिन गरी दोषी उपर कडाभन्दा कडा कारबाही गरी बिगोसमेत असुल उपर गर्न माग गरिएको छ ।
स्रोतका अनुसार म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेती सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्वलेखा प्रमुख हुन् । उनले त्यसकै आधारमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी कमसल गुणस्तरको स्वास्थ्य उपकरण महँगो मूल्यमा बेच्ने गरेको स्रोतको ठोकुवा छ । बिमल उप्रेती सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लेखा प्रमुख हुँदा लाखौँ भ्रष्टाचार गरेको र त्यसको छानबिन हुने भएपछि राजिनामा गरेर उम्किएको स्रोतको दावी छ ।
यसैगरी, म्याक्स मेडिटेकले स्वास्थ्य उपकरण भित्र्याउँदा र कारोबारअनुसारको राजस्व नतिरेको समेत स्रोतले दाबी गरेको छ । यस विषयमा जानकारी लिन म्याक्स मेडिटेक प्रालिका डाइरेक्टर बिमल उप्रेतीलाई पटक–पटक सम्पर्क गर्न खोज्दासमेत उनको फोन उठेन ।