नेकपाका नेता वीरजंगप्रति समर्पित ‘श्रद्धाञ्जली’ गीत सार्वजनिक(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित ‘श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली’ बोलको गीत सार्वजनिक भएको छ । सो पार्टीका केन्द्रीय सदस्य गीतकार एवं संगीतकार चिरन पुनले रचना गरेको गित हालै सार्वजनिक भएको हो । नेता पुनले आफ्नो युट्युब च्यानलमार्फत नेकपा केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित ‘श्रद्धाञ्जली’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
बीरजंगको क्रान्तिप्रतिको चट्टानी अडान र वैचारिक आदर्शलाई मर्मस्पर्शी शब्दहरुमा समेटेर प्रस्तुत गरिएको उक्त गीतमा रचनाकार पुनले नेता वीरजंग पहाडजस्तै चुनौतीलाई पचाउदै कहिल्यै ननिभ्ने तारा जस्तै अजर अमर भै चम्किरहने योद्धाका रुपमा प्रस्तुत गरेका छन ।
गीतमा नेता बीरजंगको निधनले फूलझरेको रित्तो बगैचा र साथी छुटेको खल्लो पंक्षीजस्तै भएको र कमरेड वीरजंगको मृत्यु सागरजस्तै गहिरो भएको भाव रहेको छ । नेता बीरजंगले हिँडेको बाटो कहिल्यै नभुल्ने प्रण गीतमा गरिएको छ ।