प्रधानमन्त्री देउवाद्वारा एमसीसी पारित गर्ने संकेत

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्किएका प्रधानमन्त्री शेरवहादुर देउवाले एमसीसी सम्झौता आवश्यक प्रक्रिया पूरा गरेर संसदबाट अनुमोदन गर्ने बताएका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । स्कटल्याण्डमा एमसीसीका डेपुटी सीइओ अलेक्सिया लातोर्तुसंग भेटवार्ता गरेका प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पूरा गरेर सम्झौता अनुमोदन गर्ने बचन दिएको जानकारी दिए ।
जलवायु सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विभिन्न देशका नेताहरुसंग भेटघाट भएको भन्दै उहाँले नेपालप्रति सवैको सद्भाव रहेको बताए । टोपी लगाएकाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई टाढैबाट चिनेको समेत प्रधानमन्त्री देउवाले बताए । बेलायतको स्कटल्याण्डमा आयोजित जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा यसै साता बेलायत गएका थिए ।