सडक दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई राहतको व्यवस्था गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सडक दुर्घटनाका घाइतेको यथाशीघ्र उपचार र मृतकका परिवारलाई राहत दिन माग गरेको छ। सो पार्टीका महासचिव विप्लवले आइतबार सल्यानमा भएको यात्रुबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा मृत्यु हुने १२ जना नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र उपचार गराउन सरकारसँग आग्रह गरेका छन् ।
महासचिव विप्लवद्वारा विज्ञप्तिमा भनिएको छ, ‘हरेक वर्ष चाडपर्वको समयमा हुने अकल्पनीय दुर्घटनामा कयौँ नेपाली जनताले अनाहक ज्यान गुमाउनुपर्ने अवस्था अझै अन्त्य हुन नसक्नु दुःखको कुरा हो । सरकारहरू फेरिए पनि आआफ्नो स्वार्थ र लुछाचुँडीमा व्यस्त छन् । जनजीविकाका विषयहरू सरकारको प्राथमिकतामा पर्ने गरेका छैनन् । जनताको सहज र सुनिश्चित यातायात सेवा प्रयोग गर्न पाउने अधिकार अझै प्राप्त हुनसकेको छैन । जनताप्रति उत्तरदायी व्यवस्था र सरकारले मात्र यो अवस्था निर्माण गर्न सक्छ । यस किसिमका दुर्घटना हुने अवस्था अन्त्य गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको यथाशीघ्र उपचार गराउन सरकारसँग जोडदार आग्रह गर्छौं ।’
उक्त दुर्घटनामा मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ६ की कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका १ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका २ की प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका ३ की ३६ वर्षकी लीला बुढाथोकी रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ की मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका १० की ३६ वर्षकी रूपा केसीको पनि मृत्यु भएको छ । प्रहरीले घटनास्थलमा ६ जना र अस्पतालमा ६ जनाको मृत्यु भएको जनाएको छ । प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर सहरतर्फ फर्किंदै गरेका सर्वसाधारण दुर्घटनामा परेको जनाइएको छ ।
