‘प्रचण्ड कमरेड एकता गर्ने भए संसदीय व्यवस्था छोडेर आउनुहोस्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ ले प्रचण्डलाई नेकपासँग एकता गर्ने भए संसदीय व्यवस्था छोडेर आउन आग्रह गरेका छन् । गृह जिल्ला रोल्पा पुगेका नेता आदर्शले जनयुद्धको उदेश्य संसदीय व्यवस्था स्वीकार्ने नभएको बताउदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत संग्रहमा सामेल हुन प्रचण्डलाई आग्रह गरेका हुन् । युद्ध लडेका माओवादीहरु संसदीय व्यवस्थामै विलिन हुँदा नेपाली कांग्रेस भन्दा माओवादी केन्द्र भ्रष्ट भएको दाबी समेत उनले गरे । नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुवासले गंगादेवमा सम्पन्न कार्यक्रमले राजनीतिक संस्कारको विकास भएको बताए । उनले भने, –सबै दलका नेताहरु एउटै मन्चमा उभिएर जेल हिरासतबाट मुक्त कमरेडहरुलाई स्वागत तथा अभिनन्दन गरेको विषय नेपालमै पहिलो र सकारात्मक हो ।
त्यसैगरी अन्य वक्ताहरुले एमसीसीको कारण देश बर्बाद हुने बताउदै त्यसको विरुद्ध जागरुक हुन अपिल गरेका थिए । दलाल व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आग्रह गरेका थिए । रोल्पाको गंगादेवमा जेल हिरासत मुक्त नेकपाका नेताहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई अभिनन्दन भएको हो ।
नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’, नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठा ‘सुवास’, लमजुङ जिल्ला सेक्रेटरी जंग बहादुर भण्डारी ‘आक्रोश’ जनयुद्धका नेता विश्व, पत्रकार गोपाल चन्द, लगायतका नेताहरुलाई स्वागत तथा अभिनन्दन गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र जनसमुदायको उपस्थिति रहेको थियो ।