नेकपाद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धिबिरुद्ध संघर्षको शंखघोष : ३० गते नेपाल बन्द

२०७८ कार्तिक २५ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य बृद्धिबिरुद्ध संघर्षको शंखघोष गरेको छ । सो पार्टीका महासचिव विप्लवले आज एक बिज्ञप्ति जारी गर्दै पदार्थको मूल्य बृद्धिबिरुद्ध संघर्षको घोषणा गरेका हुन् । महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएका सङ्घर्षका कार्यक्रमहरू अन्तर्गत कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन , कात्तिक, २६ गते प्रचार /प्रसार र साँझ मशाल जुलुस , कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा , कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम , कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्द रहेको छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” न्यायप्रेमी जवसमुदाय, जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसावले मूल्य बृद्धि गरियो । जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु १३३ मा बिक्रि गरिँने छ । बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफासहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मूल्य वृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन्‌ भने अर्कोतिर त्यसको प्रभावले सार्बजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्नेछन्‌ । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । साथै जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ ।
सङ्घर्षका कार्यक्रमहरू
कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन
कात्तिक, २६ गते प्रचार /प्रसार र साँझ मशाल जुलुस
कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा
कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम
कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस
कात्तिक, ३० गते नेपाल बन्द”

प्रतिक्रियाहरु

[anycomment]