शिक्षण अस्पतालको काम ठप्प
काठमाडौं, ३० पुस : नवनियुक्त डिन अस्वीकार र चिकित्साशास्त्र अध्ययन संस्थान सुधारका विभिन्न माग राखेर आमरण अनशन बसेका चिकित्सक गोविन्द केसीको स्वास्थ्य बिग्रंदै गएको छ। उनलाई सास फेर्न कठिन भएपछि अक्सिजन दिइएको छ।रेखदेखमा खटिएको मेडिकल टोलीका अनुसार केसीको मुटुको चालसमेत बढेको छ। स्वास्थ्य अवस्था स्थिर राख्न चिकित्सकहरूले स्लाइनसमेत दिएका छन्। सोमबार रातीदेखि नै चिकित्सक टोली उपचारमा खटिएको अस्पतालले जनाएको छ।खाना नखाएका कारण एसिडको मात्रा बढेर विभिन्न समस्या आउन थालेको जानकारी मेडिकल टोलीका सदस्य चिकित्सक महेश सिग्देलले दिए। कार्बोहाइट्रेड र चिनीको मात्रा घटेपछि केसीको पिसाबमा किटोन बडिज देखिएको छ। ‘हृदय गति र श्वासप्रश्वासको गति तीव्र हुँदै गएकाले अवस्था गम्भीर बन्ने खतरा छ’, केसीको मेडिकल टोलीका प्रमुख चिकि त्सक प्रदीपकृष्ण श्रेष्ठले जानकारी दिए ।
अन्य चिकित्सकले पनि केसीको माग सम्बोधन नभए शिक्षण अस्पतालमा आज मंगलबारदेखि काम नगर्ने घोषणा गरेका छन्। हाडजोर्नी विभागका चिकित्सकहरूले सोमबारदेखिनै काम छाडेका छन्। शिक्षण अस्पतालमा दुई सय आवासीय चिकित्सक छन्। विभिन्न विद्यार्थी तथा पेसागत संगठनले अनशनप्रति ऐक्यबद्धता जनाइरहेका छन्।चिकित्सकहरूले केसी बचाउ अभियान सञ्चालन गर्दै हस्ताक्षर संकलन पनि गरिरहेका छन्।