‘नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई धन्यवाद’

२०७८ कार्तिक ३० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई धन्यवाद दिएका छन । महासचिव विप्लवले आज साँझ एक बिज्ञप्ती जारी गर्दै पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएको बताउदै मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी रहने भएकाले साथ दिइरहन जनसमुदायलाई आह्वान पनि गरेका छन् ।
नेपाल बन्द अभूतपूर्वरुपमा सफल भएपछि धन्यवाद बिज्ञप्ती जारी गर्दै महासचिव विप्लवले भनेका छन् – ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित महँगी र मूल्यवृद्धिविरुद्ध आजको नेपाल बन्द आमजनताको सहयोग, समर्थन र सहभागितामा अभूतपूर्व रूपले सफल भएको छ । उक्त बन्द सफल बनाउन सहयोग गर्ने सबै जनसमुदायलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।’
महासचिव विप्लवले अगाडि भनेका छन्, ‘बन्दका क्रममा राज्यले पार्टी केन्द्रीय सदस्य कमरेड क. सन्देश, क. आधारलगायत तीन सयभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तार गरेको छ । हाम्रो पार्टी उक्त दमनको घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार नेता–कार्यकर्ताहरूलाइ बिनासर्त रिहा गर्न माग गर्दछ ।’

महासचिवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘मूल्यवृद्धि र महँगी जनताको हितविपरीत भएका कारण मूल्यवृद्धि खारेज नभएसम्म यो सङ्घर्ष निरन्तर अगाडि बढ्ने जानकारी गराउँछौँ । सङ्घर्षमा आमजनतालाई निरन्तर सहभागी बन्न पनि अनुरोध गर्दछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]