सिद्धार्थ राणा पुन: उत्कृष्ट करदाता

२०७८ मंसिर १ गते, बुधबार

काठमाडौं । सिप्रदी ट्रेडिङका मालिक सिद्धार्थशमशेर राणा सबैभन्दा बढी आयकर बुझाउने करदाता बनेका छन् । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मानित गरेको छ । राणाको कम्पनी सिप्रदी ट्रेडिङ व्यापार व्यवसायतर्फ सबैभन्दा बढी आयकर बुझाउने करदाता बनेको हाे ।
लगातार ६ वर्षसम्म सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित हुँदै आएका राणा गतवर्ष भने दोस्रो स्थानमा थिए । यसवर्ष फेरि पहिलो नम्बरमा देखिएका छन् । सिप्रदीले भारतीय ब्रान्डका टाटा गाडी बिक्री गर्दै आएको छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीमा टाटा अग्रस्थानमा पर्छ । सिन्धुपाल्चोकमा रहेको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजना राणाकै हो । सिप्रदी ट्रेडिङ अन्य व्यवसायमा पनि आवद्ध छ । राणाको सिप्रदी ट्रेडिङसँगै सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्ट्स, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाल लगायतका कम्पनीमा लगानी छ । सिप्रदीमा मात्रै १४ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । राणा पारदर्शी व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राख्छन् । त्यही भएर लगातार उनी व्यक्तिगत रुपमा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुँदै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु