सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने

२०७८ मंसिर ४ गते, शनिबार

काठमाडौं । सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ। नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो। यस कार्यका लागि नेपाल–भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल्ड भिजिटको काम समेत सकेको छ। टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभागका प्रवक्ता समेत रहेका उप–महानिर्देशक कृष्णप्रसाद नेपाल लगायतको उपस्थिति थियो। उच्चपदस्थ टोलीमा सहभागी नेपालले भने, ‘अर्को बाढीभन्दा पहिले गर्नुपर्ने काम आइडेन्टिफाई गर्नु पर्ने, अनि तिनीहरुलाई गर्नको लागि रिकुमेन्ट गर्नको लागि उनीहरुले आइडेन्टिफाई गरेको कामलाई फिल्ड फेरिफिकेसन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो। बाँकी अन्य मर्मत लगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ।’
भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सीके एल.दासले गरेका थिए। उनले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताए। दासले थप एजेण्डाका विषयमा भने हाई कमिटीको मिटिङ्मा कुरा हुने जानकारी दिए। टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारीका अलवा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार

नेप्से ९.१४ अंकले बढ्यो

२०८२ असार १९ गते, बिहीबार