माघे संक्रान्ति मनाइदै

२०७० माघ १ गते, बुधबार

काठमाडौं, १ माघ – आज माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति । माघ एक गतेबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे संक्रान्तिलाई मकर संक्रान्ति भनिन्छ । यस दिनदेखि सूर्य उत्तरतिर ढल्किँदै जाने र रात छोटो हुन थाल्छ । संक्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो ।माघे संक्रान्तिलाई चिसो याम सकिएर गर्मीलाई स्वागत गर्ने भनेर पनि बुझ्ने गरिन्छ । महिनौंको चिसोबाट शरीरको अङ्गहरु थाकेका हुन्छन् । शरीरबाट चिसो घटाउन घिऊ, चाकु, तिल, तरुल, पालुङ्गो आदि उपभोग गर्न सकिने सांकेतिक प्रचलन हो यो । यी सामाग्रीहरु खानाले शरीरमा ताप पैदा गर्ने तथा विभिन्न पौष्टिकता प्रवाह हुने धर्मशास्त्रीय तथा वैज्ञानिक मान्यता छ ।
नेपालीहरुले तरुल, तीलेको लड्डु र सागपात जस्ता पोषिलो खाद्य पदार्थ बुधवार माघे संक्रान्ति पर्व मनाउदैछन् । गाउँघरमा भने घिउ, चाकु, अघिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ । मिथिला क्षेत्रतिरमा भने बिहान देवीदेवताको पूजा अर्चना गरिसकेपछि तील, चामल र सखर मिलाएर आमाबाबुले आफ्रनी छोराछोरीलाई प्रसादको रुपमा दिने र छोराछोरीहरुले पनि ती बस्तुहरु ग्रहण गरी आमाबाबुको परन्तुसम्म सेवागरी पाल्ने बाचा गर्दै खाने चलन भएको पत्रकार कुमार बिबेकादन्द मिश्रले बताए । तराई भेकमा थारु समुदायमा यस पर्वलाई नयां वर्ष प्रारम्भको भएको दिनको रुपमा मनाइने गर्दछन् । यस दिनलाई उनीहरु कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवशको रुपमा पनि मनाउने गर्दछन् ।
विशेष गरेर घिउ र चाकु खाने भएकोले नेपालभाषामा ‘घिउ चाकु संल्हु’ भनिने यस पर्वमा उपत्यकाका तीन शहरमा खिचडीको साथै एक प्रकारको लामो खालको पालुङ्ग (यलय् पलः) खाने चलन छ । यस पर्वमा तिलको अत्याधिक प्रयोग गरिने र दान गर्ने भएकोले यस पर्वलाई ‘हामो संल्हु (तील संक्रान्ति)’ पनि भन्ने गरिन्छ ।
यस दिनदेखि सूर्य मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकोले ‘मकर संक्रान्ति’ भनिने गर्दछन् । देवताहरुका लागि उत्तरायणी दिन र दक्षिणायणी रात हुने भएकाले सूर्य उत्तरायणी हुने समयमा मानिसहरुले मरण यसै समयमा हुने इच्छा गर्दछन् । स्वेच्छा मरणको वरदान पाएका गंगापुत्र भीष्म महाभारतको युद्धमा घाइते भई मुत्युको शैयामा रहन्दा मरणको लागि सूर्य उत्तरायणीलाई पर्खेको महाभारतमा वर्णन छ । यस पर्वमा जीउभरि तेल घसेर दिनभरि घाम ताप्ने चलन छ र परिवारका मुली वा आमाले आफ्नी छोराछोरीहरुलाई टालुमा तेल हाली दिने गरिन्छ ।
यस पर्वमा नदिहरुका दोभान परेका देउघाट, शंखमूल, टेकुदोभान, पनौती दोलालघाट आदिजस्ता पवित्र तिर्थस्थलमा स्नान गर्ने गरिन्छ । यस दिन भक्तपुरको तौमढी टोलमा रहेको तीलमाधवनारायणको विशेष पूजा अर्चना गरिन्छ र त्यहाँ नवदुर्गा गणको नाच पनि यस दिनमा सुजमारी टोलबाट आरम्भ गरिन्छ । यसै दिनमा भक्तपुरका पाँच दीपंकरको जात्रा गरी सम्यक दिन, पञ्चदान पनि गर्ने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु