‘नेपालमा वैज्ञानिक समाजवादको झन्डा फहराउने सुनिश्चित’

२०७८ मंसिर ९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले नेपालमा छिट्टै वैज्ञानिक समाजवादको झन्डा फहराउने कुरा सुनिश्चित भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टी इलामले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । नेता सुमनसिंहले सत्ता पराजित भएकै कारण तीनबुँदे सहमतिबिरुद्ध षड्यन्त्र हुन थालेको र यो सत्ताको पराजित मानसिकताको उपज भएको बताए । राष्ट्र र जनताविरुद्ध लाग्नेहरू तीनबुँदे सहमतिबाट भाग्न खोजिरहेका छन् भन्दै उनले छलफलबाट निकास दिन तयार नभए जनताले बल प्रयोग गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए । एकीकृत जनक्रान्ति बलिदानको मार्ग हिडेर आएको हुनाले बलिदानको मार्गलाई अझैँ शसक्त बनाउन हामीले आज प्रण गर्नुपर्छ भन्दै कार्यकर्तालाई बलिदान गर्न तयार छु भन्ने भावनाको बिकास गर्नुपर्ने बताए । सिंहले पार्टी पुनर्गठन दिवसको शुभकामना दिँदै यो पार्टी बिश्वभरीका श्रमिक जनता र सिङ्गो पृथ्विको निम्ति सधैँ अग्रदस्ता, मुक्तिदुत बन्ने कुराको बिश्वासका साथै प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो पार्टीका नेताहरू फुकिफुकि पाइला चाल्दै अगाडि बढेको हुनाले धेरै शङ्का उपशङ्का नगर्न कार्यकर्ताहरूलाई अनुरोध गरे ।
त्यस्तै केन्द्रीय सल्लाहकार समितिका सदस्य होम खतिवडाले इलाम जिल्ला रत्नकुमार जस्ता क्रान्तिकारीको रगत बगेको जिल्ला भएको हुनाले यहाँ कम्युनिस्टहरू बलियो रहेको बताए । वास्तविक कम्युनिस्ट पार्टी हाम्रो पार्टी भएको हुनाले पार्टी जनतामा पुगे छद्म कम्युनिस्टहरू पत्तासाफ हुने बताए । उनले इलाम चमैतामा रहेको रत्नकुमारको जीवन र सुरुङ्गबाट सिक्नुपर्ने बताए । इलाममा बिस्तारै क्रान्तिप्रति जनताको बिश्वास बढ्न थालेको, अहिले इलाममा एकीकृत जनक्रान्ति खोज्नेहरूको घुइँचो लाग्न थालेको उनले बताए ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरू, जनवर्गीय सङ्गठनका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य जिल्ला कमिटीका अविनाशले राखेका थिए । कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सचिव मौसमले गरेका थिए । उनले कार्यक्रम समापनको क्रममा पार्टी पुनर्गठन दिवसको शुभकामना दिँदै अबको एकाध बर्षमा इलामबाट शंसोधनवादी कम्युनिस्टहरूलाई पत्तासाफ गरेर वास्तविक कम्युनिस्टहरूको सत्ता चलाउने उद्घोष गरे । उनले सबैले पार्टीको योजनालाई गतिशील ढङ्गले कार्यान्वयन गर्न सुझाब दिँदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]