‘व्यवस्थाको फैसला जनतालाई गर्न दिनु बैज्ञानिक र लोकतान्त्रिक ‘

२०७८ मंसिर १४ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकट समाधानको दलाल संसदीय व्यवस्था कि बैज्ञानिक समाजवाद भन्ने फैसला जनतालाई गर्न दिनु बैज्ञानिक र लोकतान्त्रिक कार्य हुने ठोकुवा गरेका छन । सो पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ केन्द्रीय समितिको आठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटको समाधानको लागि जनमत संग्रहको बिकल्प नभएको बताउदै निरंकुश राजतन्त्रले समेत जनमत संग्रहलाई स्वीकारेको तथ्य प्रस्तुत गर्दै आफुलाई लोकतन्त्रवादी कहलाउने दल र नेताहरुले जनमत संग्रहको बिरोध गर्नु आश्चर्यजनक भएको बताएका छन् । उनले आफुलाई लोकतन्त्रवादी ठाने र मान्ने राजनीतिक दल र नेताहरुलाई जनमत संग्रह्देखी नतर्सिन समेत आग्रह गरे।
यसैगरी, प्रवक्ता प्रकाण्डले खेलकुद क्षेत्र बहुआयामिक भएकाले यसलाई वैज्ञानिक ढंगले विकास गर्न महासंघलाई निर्देशन दिए । खेलकुद भित्रको विभिन्न समस्या, गलत चिज र बेतिथिका विरुद्ध मिसन आन्दोलन महासंघले गर्नुपर्ने बताए । पार्टी प्रवक्ता प्रकाण्डले सबै खेलाडीहरुको समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्थामा हुने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले तय गरेको कार्यदिशा र कार्यनीतिमा सहभागी हुन सबै खेलाडीहरुलाई आग्रह गरे । उनले खेलकुद क्षेत्रमा दलाल सरकारले वेवास्ता गरेको कारणले नेपालको खेलकुद क्षेत्र कमजोर भएको , खेलकुद राष्ट्रकाे गहना हुदाहुदै पनि वेवास्ता गर्नु गैरजिम्मेवार भएको र सरकार गैरजिम्मेवार भएकै कारणले खेलाडी पलायन भएको बताए ।
यसैगरी ,उक्त बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा खेलकुद फ्र्याक्सन इन्चार्ज मिलनले आजको परिवेशमा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले गर्नुपर्ने र गर्नसक्ने बिषयमा प्रकाश पारेका थिए । उनले देशमा भ्रष्टाचारी, कमिसनखोरी, महङ्गी, हत्या, हिंसा, अन्याय फैलिएको भन्दै यसको समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले गर्ने बताए ।
उक्त बैठकले नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यही मंसिर २२ गते खेलकुद क्षेत्र, खेलाडी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँको त्रिपुरेश्वरमा गर्ने निर्णय गरेको छ । त्यसैगरी महासंघकै आयोजनामा आगामी फागुन १,२, ३ र ४ गते वीरजङ्ग स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको बसेको सो बैठकले सात वटै प्रदेशमा महासंघको संगठन विस्तार गर्ने, राष्ट्रिय खेलकुद परिषदभित्र भएका अन्याय बेतिथिका विरुद्ध आवाज उठाउने, खेलाडी, खेलप्रेमि र खेल व्यवसायीहरुमा सबै विधागत खेलकुदमा नमिलेको विषयमा महासंघले पहल लिनुपर्ने र अहिले कुनै पनि सरकारी निकायका संघ परिषदभित्र महासंघ नजाने निर्णय गरेको बताइएको छ । उक्त बैठकको सञ्चालन महासंघका महासचिव विनोद चन्दले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]