विप्लवद्वारा वैज्ञानिक समाजवाद स्थापनामा लाग्न किसानलाई आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले वैज्ञानिक समाजवाद स्थापनामा लाग्न किसानहरूलाई आह्वान गरेका छन् ।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन् । महासचिव विप्लवले देशका किसानका समस्याहरूका बारेमा चर्चा गर्दै दलाल पुँजीवादी व्यवस्थामा किसान र कृषिक्षेत्रले ठूलो नोक्सानी र हैरानी बेहोर्नुपरेकाले वैज्ञानिक समाजवाद स्थापनामा लाग्न किसानहरूलाई आह्वान गरेका थिए ।
।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकले क्वारेन्टाइन चुस्तदुरुस्त बनाउन सरकारलाई आह्वान गर्ने र क्वारेन्टाइन पास नगरी स्वदेश भित्रिएका कृषि, खाद्यलगायत सामान नष्ट गर्ने निर्णय गरेको बताइएको छ ।
यसैगरी, बैठकले आगामी पुस २ गतेबाट तीनमहिने अभियान सञ्चालन गर्ने र अभियानका क्रममा किसानका जिल्ला भेला, सम्मेलन सम्पन्न गर्नुका साथै नजिकबाट किसानका समस्या बुझ्ने, राष्ट्रघाती एमसीसी, महँगी, भ्रष्टाचार, अनुदानमा अनियमिततालगायत विकृति, विसङ्गति र बेथितिको भण्डाफोर गर्दै किसानलाई जागृत गाराउने निर्णयसमेत गरेको बताइएको छ ।
बैठकमा सङ्गठनका फ््रयाक्सन इन्चार्ज नेकपाका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले किसानका समस्यामाथि प्रशिक्षण दिएका थिए ।
उक्त बैठकमा नेकपा केन्द्रीय सदस्य एवम् केन्द्रीय कार्यालय सचिव असल, नेकपा केन्द्रीय सदस्य प्रज्वलन, विशेष समितिका सदस्यहरू महेश, ध्रुव, रुद्र र चितवन जिल्ला सेक्रेटरी मीनप्रसाद अतिथिका रूपमा सहभागी थिए । बैठकमा प्रतिबन्धको समयमा जेल र हिरासतमा बसेर रिहा भएका किसान नेताहरूलाई सम्मान गरिएको थियो । जेल हिरासत परी रिहा भएका किसान संगठनका महासचिव सागर अर्याल, केन्द्रीय सदस्यहरु प्रकाश ढकाल, विष्णु रिजाल मान बहादुर गोले तामाङलाई सम्मान गरिएको थियो ।
उक्त बैठकमा संगठनका केन्द्रिय अध्यक्ष हरि श्रेष्ठले किसान समस्याका विषयमा दस्ताबेज प्रस्तुत गरेका थिए ।