अबैध बैकिङ कारोबार गर्ने पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सञ्चालक तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।