इजिप्टको जनमत संग्रहमा ११ को मृत्यु

२०७० माघ २ गते, बिहीबार


कायरो, २ माघ – इजिप्टमा नयाँ संविधानको निर्माणका लागि मंगलबार भएको जनमत संग्रहमा भएको हिंसामा ११ नागरिकको मृत्यु भएको छ । गत जुलाईमा सेनाले निर्वाचित इस्लामिक राष्ट्रपति मुहम्मद मुर्सीलाई सत्ताबाट जबरजस्ती हटाएपछि नयाँ संविधान निर्माण गर्ने विषयमा जनमत संग्रह घोषणा गरेको थियो ।
सेना प्रमुख जनरल अब्दुल फताह एल सिस्सीका असंख्यक समर्थक र उनका विरोधी जनसमुदायबीच झडप भएको थियो । तीन वर्षयता डरलाग्दो अस्थिरता र आर्थिक ऋणमा चुर्लम्म डुबेको उक्त मुलुकमा हाल सेना समर्थकको संख्या बढ्दै गएको छ । दीर्घकालदेखि सत्तामा रहेका राष्ट्रपति मुबारकको सन् २०११ मा पतन भएपछि त्यहाँ अशान्ति कायमै छ ।
पूर्वराष्ट्रपति मोर्सीको दल मुस्लिम ब्रदरहुडलाई पछिल्लो समयमा सरकारले आतंकवादी घोषणा गरेको छ । उक्त दलले निर्वाचनलाई बहिष्कार गर्न आह्वान गरेको थियो । त्यहाँ तीन वर्षमा छ आम निर्वाचन भइसकेको छ । यो जनमत संग्रह त्यहाँको संविधानमा संशोधनकालागि हुन लागेको हो । मुर्सीलाई सत्ताच्यूत गरेदेखि अहिलेसम्म त्यहाँ हजारभन्दा बढीको ज्यान गइसकेको छ । बुद्धिजीवीहरूले जनमत संग्रहमा सेना समर्थक जनरलले विजयी हासिल गरेमा मुलुकमा प्रजातन्त्रको गति हुने बारेमा चिन्ता प्रकट गरिरहेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]