देशभरकै मौसम बदली
काठमाडौं, ४ माघ – आज बिहानबाट देशभरको मौसम बदली भएको छ । पश्चिमका धेरै ठाउँमा वर्षा र हिमपात भएको छ । देशको पूर्व र मध्य क्षेत्रमा पनि बदली भएर फाट्टफुट्ट पानी परेको छ ।अरु क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा ठूलो पानी परेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो ।
हुम्ला, जुम्ला, कालिकोट, मुगु लगायतका मध्यपश्चिम र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा विहानैदेखि हिमपात भएको छ । हिमपातका कारण ती क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिउँ परेकाले ती ठाउँमा यातायात सेवासमेत प्रभावित भएको छ ।
मनाङ र लमजुङका उच्च क्षेत्रमा पनि हिउँ परेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार विहानसम्म डडेलधुरामा २२ दशमलव ५, दीपायलमा २८ दशमलव ८, धनगढीमा २१ दशमलव ८, वीरेन्द्रनगमा २४ दशमलव ५, नेपालगंजमा २२ दशमल २, जुम्ला १३ दशमलव २, पोखरामा २ मिलिमिटर वर्षा भएको छ ।पश्चिमी वायु र अरेबियन सागरबाट आएको वायुको प्रभावले बदली भएको मौसममा भोलिदेखि केही सुधार आउने मौसमविदले बताएका छन् ।