६ राजनितिक दल र दुई मोर्चाद्वारा MCC सम्झौता खारेज गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनितिक दल र दुई मोर्चाले MCC सम्झौता खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकस्थित संसदभवन अगाडिसम्म नारा र व्यानरसहित विरोध जुलुस गरेका छन् । उक्त विरोध सभालाई सम्वोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) स्थाई समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीको बहस संसदमा चलाउनै मिल्दैन र यो सम्झौतालाई संसदमा टेबुल गर्नै नपाइने बताए । उनले संसदवादीहरुले अति उत्तम भनेको र मानी आएको संविधानमा देशको सार्वभौमिकताको विषय अपरिवर्तनीय छ र यसवारे संसदमा बहससम्म पनि हुननसक्ने भएको ठोकुवा गर्दै एमसीसी सम्झौता देशको राष्ट्रिय स्वाधिनता र सार्वमिकतासँग जोडिएको विषय भएकाले यसवारे संसदमा बहसका लागि टेबुल गर्नै नपाइने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा यसवारे छलकपट गर्दैछन् र संसदमा टेबुल गरेर ओलीको साथ लिएर पास गर्न चाहन्छन् । त्यसैले यो षडयन्त्रलाई चिर्न एमसीसी सम्झौतालाई संसदमा टेबुल नै गर्न नहुने बताए ।
उक्त विरोधसभालाई साध्यबहादुर भण्डारी, गुणराज लोहनीलगायतका नेताहरुले सम्वोधन गरेका थिए भने सभाको सञ्चालन नेकपा(क्रान्तिकारी माओवादी) का पोलिट व्युरो सदस्य दिनेश शर्माले गरेका थिए ।