घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल आठौँ स्थानमा

काठमाण्डाै । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाललाई पनि राखेको छ । घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौँमा स्लोभानिया, छैटौँमा एङ्गुइला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौँमा मलावी र दशाैँमा इजिप्ट विश्वको उत्कृष्ट गन्तव्यको सूचीमा छन् ।
कोरोना भाइरसको महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदैछ । पर्यटन क्षेत्रमा चहलपहल सुरु भएका बेला लोन्ली प्लानेटको सूचीमा पनि नेपाल उत्कृष्ट १० भित्र परेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्। लोन्ली प्लानेटले कुनै पनि देशको समसामयिक अवस्था, प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधताको अध्ययन र विश्लेषण गरेर उत्कृष्ट देशको छनाेट गरिने जनाएको छ ।
यस्तै, पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित देशले गरेको स्थायी प्रतिबद्धताका आधारमा पनि घुम्नै पर्ने देशहरुको सूची तयार हुने लोन्ली प्लानेटका उपाध्यक्ष टम हलले बताएका छन । प्राकृतिक मनोरम दृश्य झरना, पहाड, हिमाललगायत मनोरम दृश्यले पर्यटकलाई लोभ्याउने पनि उनले बताएका छन ।