‘अमेरिका एमसीसीमार्फत हतियार बोकेर नेपाल छिर्न खोज्दैछ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले एमसीसीमार्फत अमेरिका हतियार बोकेर नेपाल छिर्न लागेको ठोकुवा गरेका छन। एमसीसी सम्झौता खारेज गर्न माग गर्दै नेकपासहित ६ पार्टी र २ मोर्चाले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता शितलले सो ठोकुवा गरेका हुन्। उनले अमेरिकी साम्राज्यवाद एमसीसीमार्फत दक्षिण एसियामा बढ्दो कम्युनिस्ट प्रभावलाई निस्तेज पार्न सहयोगको नाममा बिष लिएर आउन लागेको भन्दै नेपालमा सैन्य अड्डा खडा गरेर विश्व अर्थतन्त्रमा चीनको आर्थिक प्रभावलाई रोक्ने, नेपालका बहुमुल्य प्राकृतिक स्रोत साधनमाथि कब्जा गर्ने अमेरिकी साम्राज्यवादको सपना नेपाली श्रमजीवी जनताले कहिल्यै पूरा हुन नदिने ठोकुवा गरे ।
नेता शितलले राष्ट्रघाती एमसीसी सम्झौता जबर्जस्त पास गरे संसदवादी दलालहरुलाई जनताले एउटै चिहानमा पुर्ने बताए । एमसीसी हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग हो, दक्षिण एसियालाई सबै हिसाबले कन्ट्रोल गर्ने सैन्य रणनीति हिन्द प्रशान्त रणनीति भएकाले एमसीसी देशका लागि घातक भएको नेता शितलको भनाइ थियो ।
दक्षिण एसियालाई घेर्ने र चीनलाई कमजोर बनाउने उदेश्यका साथ अमेरिकी साम्राज्यवादले एमसीसीमार्फत नयाँ चाल चलेको भन्दै नेता शितलले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र क्रान्तिकारी शक्तिहरु सम्झौताका विरुद्ध एकजुट हुनुपर्ने धारणा राखे ।
संयुक्त विरोध प्रदर्शन कार्यक्रमका प्रमुख वक्ता समेत रहेका नेता शितलले एमसीसी सम्झौता संसदबाट दलालहरुले पास गरे जनताले ताली पटकाउने अपेक्षा गर्नु मुर्खता हुने उद्घोष गरे । उनले भने, जनताको चाहना विपरीत राष्ट्रघाती एमसीसी सम्झौता पास गर्नुस् पहिला, जनताले ताली पट्काउछन कि बन्दुक ।
नेता शितलले नेपालको रक्षा र नेपाली जनताको रक्षाको लागि जे पनि पट्किन सक्ने चेतावनी समेत दिए । एमसीसी पास गर्ने धृष्टता गरे विदेशी दलालहरुलाई एउटै चिहानमा पुर्ने जनताको शक्ति तयार भएको नेता शितलको जिकिर थियो ।
यसैगरी, संयुक्त विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज समिरले सिंहदरबारमा बसेर राष्ट्रघाती एमसीसी सम्झौता पास गर्ने दुस्साहस गरे शासकहरुका विरुद्ध बन्दुक बोक्ने उद्घोष गरे ।
जनताको सेना छैन भनेर जनतालाई हेप्ने कोसिस नगर्न नेता समिरले संसदवादी दलहरुलाई चेतावनी दिए । बन्दुक कहाँबाट आउँछ हामीलाई थाहा छ, यदि अमेरिकी साम्राज्यवादी सेना नेपालमा खसालियो भने हामी बन्दुक बोक्छौ, नेता समिरले भने । एमसीसी सम्झौतामार्फत नेपाललाई रणमैदानमा प्रयोग गरेर चीन विरुद्धको अमेरिकी अभियान सफल नहुने नेता समिरको उद्घोष थियो।
विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारीले हिजो आफुहरु राजनीतिक स्वतन्त्रताको लागि लडेको र त्यो पूरा नभएको स्पष्ट पारे । देशको सार्वभौमसत्ता, अखण्डतालाई नै समाप्त पार्ने, गृहयुद्धमा धकेल्ने एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुन नदिने बताए । उनले नेपालका केही वामपंथी भन्ने साम्राज्यवादका नोकरहरुले एमसीसी पास गर्ने हदैसम्मको प्रयास गरेकोप्रति आक्रोश व्यक्त गर्दै ती अवसरवादीहरुलाई जनताले लखेट्नु पर्ने धारणा राखे ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा मालेका प्रदेश समिति सदस्य कपिलदेव पोख्रेलले नेपालका संसदवादी दलालहरुलाई नेपालमा बस्न मन छैन भने जनताले रु. ५ का दरले पैसा संकलन गरेर अमेरिका पठाउन सक्ने तर आफ्नो मातृभूमिलाई केही अर्व पैसाको लोभमा लिलामी गर्न नदिने बताए । उनले नेपालका शासकहरुलाई जनताको मर्म र भावना अनुरुप शासन गर्ने हो भने एमसीसी सम्झौता खारेज गर्न नेता पोख्रेलको आग्रह थियो ।
यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् दाङका अध्यक्ष गणेश आचार्यले सभालाई सम्बोधन गर्दै एमसीसी सम्झौतामार्फत अमेरिकाले नेपालमा अस्थिरता, अराजकता मच्चाउन आइरहेको बताए । विकास र समृद्धिको नाममा अमेरिका चीनलाई घेर्ने रणनीति सहित आफ्नो साम्राज्यवादी उदेश्य पूरा गर्न आइरहेको बताए । नेता आचार्यले अमेरिकी साम्राज्यवादले नेपाललाई रणमैदान बनाउने योजना सफल नहुने जिकिर समेत गरे ।
विरोध सभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल दाङ जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरेले नेपालका दलालहरुले एमसीसी सम्झौतामार्फत अमेरिकी सेना भित्र्याउने खेल खेलिरहेको बताए । उनले नेपालमा एमसीसी सम्झौता खारेज गर्न देशभक्त, प्रगतिशील, बामपंथी र क्रान्तिकारी शक्तिहरुले जनस्तरमा अभियान चलाउनुपर्ने धारणा व्यक्त गरे ।
संयुक्त विरोध प्रदर्शन कार्यक्रमको आयोजना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ, नेपाल कम्युनिस्ट पार्टी (मसाल) दाङ, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ, नेपाल कम्युनिस्ट पार्टी माले दाङ, राष्ट्रिय जनमोर्चा दाङ र देशभक्त जनगणतान्त्रीक मोर्चा दाङले गरेका हुन् ।
विरोध प्रदर्शन घोराहीको ट्राफिक चोकबाट सुरु भइ घोराही सहरका मुख्य चोक परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभाको संचालन युवा संगठन नेपालका केन्द्रीय सचिव तिलकले गरेका थिए ।
यस्तै नेकपा सहितको ८ दलीय मोर्चाले आज देशव्यापी एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन तथा विरोध सभा सम्पन्न गरेको छ ।