‘एमसीसी नेपालमा टेकेर चीनलाई घेर्ने रणनीति’

२०७८ पुष ७ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेसराज भुसालले दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम गर्न र नेपालमा टेकेर चीनलाई घेर्ने रणनीतिका साथ एमसीसी परियोजना आएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र २ मोर्चाले आयोजना गरेको एमसीसीबिरुद्ध बुटवलमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । नेता भुसालले एमसीसी नेपालमा कम्युनिस्ट प्रभावलाई रोक्ने रणनीति अमेरिकी साम्राज्यवादको भएको भन्दै यसको विरुद्ध सङ्घर्ष गर्न आवश्यक भएको बताए । नेता भुसालले साम्राज्यवादले नेपालमा रहेको प्राकृतिक स्रोत साधनलाई कब्जा गर्ने उद्देश्य रहेको भन्दै संसदीय राजनीतिक दलबाट राष्ट्रिय स्वाधीनताको रक्षा असम्भव रहेको बताए । उनले संसदीय व्यवस्थाले ठूलाठूला राष्ट्रघात स्मरण गर्दै फेरी उनीहरूले अहिले पनि एमसीसीमार्फत ठूलो राष्ट्रघात गर्न लागेको बताए । भुसालले साम्राज्यवादविरुद्ध आफूहरूले कहिल्यै शीर नझुकाउने भन्दै त्यसका विरुद्ध अविराम सङ्घर्ष गर्ने बताउँदै ६ दलीय कम्युनिस्ट पार्टीले गरेको सङ्घर्ष आगोको झिल्को भएको बताए ।
नेता भुसालले नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी जनताले तिरेको करबाट चलिरहेको बताउँदै एमसीसी परियोजनाविरुद्ध सम्पूर्ण देशभक्तहरू एकजुट हुनुपर्ने बताए । उनले एमसीसी कुनै दलको मात्र चासोको बिषय नभएर सम्पूर्ण देशभक्त नेपालीहरूले सङ्घर्ष गर्नुपर्ने बताए ।
यसैगरी, उक्त विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी साम्राज्यवादले नेपालीको भूमि प्रयोग गरेर चीनको घेराबन्दी गर्न एमसीसी परियोजना ल्याइएको बताउँदै यसको सङ्घर्ष आवश्यक भएको बताए । उनले आफ्नो पार्टीले संसदमा यसका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको बताउँदै एमसीसी संसदबाट अनुमोदन हुन नदिने बताए । नेता केसीले महाकाली सन्धि, टनकपुर सन्धिलगायत राष्ट्रघाती सन्धिसम्झौताको आफूहरूले विरोध गर्दै आएको भन्दै एमसीसी पनि राष्ट्रघाती सम्झौता भएकोले जनताले सङ्घर्ष गर्नुपर्ने बताए ।
यसैगरी नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले एमसीसी सम्झौता शंसोधन गरेर होइन, परियोजना नै खारेज गर्नुपर्ने बताए । उनले एमसीसी नेपालको विद्यमान संविधानभन्दा माथि राखेर नेपालको सार्वभौमसत्ता र स्वाधीनताको विरुद्ध रहेको बताए । नेता सुवेदीले एमसीसी परियोजना इन्डोप्यासिफिक रणनीतिसित सम्बन्धित रहेको भन्दै यसलाई सबै नेपालीहरूले अस्वीकार गर्नुपर्ने बताए । यस्तै नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणि गौतम र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका शशी विश्वकर्माले एमसीसी नेपालको हितविरुद्ध रहेको भन्दै यसका विरुद्ध सम्पूर्ण देशभक्त क्रान्तिकारीहरू एकभएर सङ्घर्ष आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]