ललिता निवास प्रकरणका मुख्य आरोपी पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् । गए राती स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ परेका उनीहरु अहिले सीआईबीको नियन्त्रणमा छन् । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको छ । मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ । नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदीलाई सीआईबीले पक्राउ गरेको हो । उनीसँगै योजनाकार मानिएका शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशका कारण थुनामा छन् ।
२०४९, २०६२, २०६६/६७ र २०६९ गरी चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भए पनि सुवेदी फरार थिए । सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विषेश अदातलमा मुद्दा दायर गरेको थियो । अख्तियारको अनुसन्धानपछि पनि सुवेदी दम्पती फरार थिए । पक्राउसँगै सीआईबीले ललिता निवास प्रकरणको किर्ते मुद्दामा सरकारी वकिलको कार्यालय काठमाडौं अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । यो मुद्दा आगामी पुस २७ गते सम्म मात्र हदम्याद छ । पक्राउ परेको सुवेदी सहित सिआइबीले करिब ४ सय जना विरुद्ध प्रतिवादी बनाएर मुद्दा दायर गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।