जनपत्रकार संगठन मकवानपुरको संयोजकमा सुर्यबहादुर गोले

काठमाडौँ । जनपत्रकार संगठन नेपाल, मकवानपुरको प्रथम जिल्ला भेलाले सुर्य बहादुर गोलेको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको जिल्ला सम्पर्क कार्यालयमा भएको भेलाको प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन थिए । जनपत्रकार संगठन नेपाल, मकवानपुरको ११ सदस्यीय कार्यसमितिको प्यानल घोषणा गर्दै प्रमुख अतिथि नयनले जनपत्रकारिता आजको आवश्यकता भएकोले निर्वाध रूपले जनपक्षीय पत्रकारिताको महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रेरित गरे । त्यस्तै उनले हाम्रो देशमा शोषक र शोषित दुई वर्ग विद्यमान रहेको र पैसाको प्रलोभनमा फसेर शोषक वर्गको पक्षमा नभई शोषित, पीडित, अन्याय र अत्याचारमा परेका आम नेपाली जनताको न्यायको पक्षमा कलम चलाउन आग्रह गरे । साथै दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत तयार गर्नु जनपत्रकार संगठनको महत्वपूर्ण जिम्मेवारी भएकोले उक्त जिम्मेवारी सशक्त ढंगले पूरा गर्नुपर्ने बताए । कार्यक्रमका अतिथि सुर्य बरालले जनपत्रकारिताको महत्व, आवश्यकता, विशेषता र कार्यभारप्रति प्रष्ट पारेका थिए। त्यस्तै मकवानपुरका जिल्ला सेक्रेटरी तथा कार्यक्रमका अतिथि वाटरले बधाई तथा शुभकामना मन्तव्य राख्दै नवनिर्वाचित कार्यसमितिलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिएका थिए ।
अखिल (क्रान्तिकारी) मकवानपुरका कार्यवाहक अध्यक्ष ललित घलानको सञ्चालनमा रहेको जनपत्रकार संगठन नेपाल, मकवानपुरको प्रथम जिल्ला भेला कार्यक्रमको अध्यक्ष सूर्य बहादुर गोलेले आफ्नो प्रतिबद्धतासहित कार्यक्रम समापन गरेका थिए ।