‘जनमत संग्रहमार्फत् वैज्ञानिक समाजवादमा जानुको बिकल्प छैन ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थामा गम्भीर संकट आएकाले जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादमा जानुको विकल्प नभएको ठोकुवा गरेका छन् । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्। उनले अहिलेको व्यवस्था पूर्ण असफल मात्र होइन चरम संटकतर्फ धकेलिएको भन्दै यसको निकास संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक भन्ने विषयमा जनतामा जानु पर्ने बताए । प्रवक्ता प्रकाण्डले अहिलेको मुख्य समस्या राज्य व्यवस्थाको चरित्र मुठ्ठीभर दलालहरुको हातमा भएको र जसले गर्दा राष्ट्रघात र जनघातहरु बढिरहेको ठोकुवा गरे ।
उनले पत्रकारको प्रश्नको जवाफ दिदै जनताको लोकतान्त्रिक तथा प्रजातान्त्रिक अधिकार भनेको चुनाव हो र जनमत संग्रहको चुनावबाट जनतालाई आफ्नो व्यवस्थाको फैसला आफै गर्न पाउने अधिकार दिनु पर्ने बताए ।
उनले इतिहासको सबैभन्दा बढि राष्ट्रघाती सम्झौता एमसीसी सम्झौता भएको र यो सम्झौताले देशलाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन खोजिएको दाबी गरे ।
उनले जनुसुकै मुल्यमा पनि सबै नेपालीहरुले एमसीसी खारेज अभियानमा लाग्नु पर्ने बताए ।
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी विरुद्ध अफवाह फैजाउने गरिएकाले त्यो सत्य नभएको भन्दै पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामा प्रतिबद्ध भएर लागेको र विचार मिल्ने क्रान्तिकारी, प्रगतिशील र राष्ट्रवादी शक्तिसग सहकार्य गर्न तयार भएको बताए ।
एमसीसी जस्तो राष्ट्रघाती कदम विरुद्ध जनताको खबरदारी भइरहदा पनि दलालहरुले वेवास्था गरे र नेकपासँग भएका तीन बुँदे सहमति कार्यन्वय नगरे आफ्नो पार्टीले शान्तिपूर्ण धक्का दिने पनि चेतवानी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एटम, नेकपा सुर्खेत जिल्ला सेक्रेटरी धुव्र, पूर्वी सुर्खेत सेक्रेटरी सरिता, विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।