बैंकिङ गतिविधि काठमाडौं उपत्यकामा नै सिमित
काठमाडौं,७ माघ । बैंक तथा वित्तीय संस्थाहरुको ७० प्रतिशत गतिविधि काठमाडौं उपत्यकामा हुने गरेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।राष्ट्र बैंकले मोफसल र शहरोन्मुख इलाकामा शाखा विस्तार गर्न जोड दिइएपनि बैंक तथा वित्तीय संस्थाहरु उक्त क्षेत्रमा जान सकेका छैनन् । उपत्यकाबाहिर आर्थिक गतिविधि विस्तार हुन नसक्दा बैंकको कारोबार समेत उपत्यकामा मात्र सीमित भएको हो ।राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा गत वर्ष बैंकहरुले ८ खर्ब ४३ अर्ब २९ करोड ५७ लाख निक्षेप संकलन तथा ५ खर्ब २१ अर्ब ९८ करोड ११ लाख कर्जा प्रवाह गरेका छन् । सो अवधिमा मोफसलमा करिब ४ खर्ब निक्षेप संकलन भएको छ ।
अघिल्लो वर्ष उपत्यकाबाहिर बैंकिङ कारोबार बृद्धिदरमा केही सुधार आएको भएपनि आर्थिक वर्ष २०६९/७० मा भने कारोबार बृद्धिदरमा समेत उपत्यका नै अगाडि देखिएको छ । गत वर्ष उपत्यकाको बैंकिङ कारोबारमा निक्षेपमा २१ दशमलव ३९ र कर्जामा १६ दशमलव २८ प्रतिशतको बृद्धि भयो । कर्जामा उपत्यकाभन्दा जनकपुरमा ४५ दशमलव ८० प्रतिशतको बृद्धिदर छ, तर त्यहाँ निक्षेप संकलनको बृद्धिदर जम्मा १६ दशमलव ७५ प्रतिशत छ । प्रतिशतको आधारमा कर्जामा जनकपुर पहिलो र निक्षेपमा दोस्रो स्थानमा आएको हो ।
हाल देशभर बैंक तथा वित्तीय संस्थाका तीन हजार शाखा सञ्जाल रहेका छन् । पोखरामा एक खर्ब रुपैयाँको कारोबार भएको छ । बैंक तथा वित्तीय संस्थाका करिब ३ सय शाखा सञ्चालनमा रहेको पोखरामा १ खर्ब ४ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
गत वर्षसम्म देशभर २ हजार ९ सय ९ वटा शाखा सञ्चालनमा रहेकोमा काठमाडौंमा उपत्यकामा ८ सय ८३ वटा कार्यालय छन् । संख्यात्मक रुपमा विराटनगर क्षेत्रमा ४ सय ३२, बीरगन्ज क्षेत्रमा ३ सय ७२, सिद्धार्थनगर क्षेत्रमा ३ सय १३, नेपालगन्ज क्षेत्रमा २ सय ८ तथा धनगढी क्षेत्रमा १ सय ३५ वटा बैंक तथा वित्तीय संस्थाका कार्यलय सञ्चालनमा छन् ।
पोखरापछि धेरै कारोबार हुनेमा विराटनगर रहेको छ । यी क्षेत्रबाट ६८ अर्ब २९ करोड ७९ लाख रुपैयाँ निक्षेप तथा ९१ अर्ब ९२ करोड २८ लाख रुपैयाँ कर्जा लगानी भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले उपत्यकाबाहिरबाट ३ अर्ब ७९ अर्ब ८० करोड निक्षेप उठाए भने उपत्यकाबाट ८ खर्ब ४३ अर्ब २९ करोड निक्षेप उठाए । गत वर्षभरिमा बैंकहरुले १२ अर्ब २३ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ९ खर्ब १ अर्ब २८ करोड रुपैयाँ कर्जा विस्तार गरेका थिए ।
केन्द्रीय बैंकका अनुसार राजधानीबाहिर बैंकहरुको कारोवार राम्रो भएपनि राजधानी नै अगाडि छ । राजधानीबाहिर आर्थिक गतिविधि बढ्न नसकेका कारण राजधानीको कारोबार ठूलो भएको हो ।
अघिल्लो वर्ष राजधानीबाहिरका बैंकहरूमध्ये सिद्धार्थनगरमा कारोबार बृद्धिदर सबैभन्दा धेरै थियो भने समग्रमा राजधानी नै अगाडि थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष राजधानीमा २१ दशमलव ३९ प्रतिशत निक्षेप संकलन बढ्यो भने प्रतिशतको आधारमा दोस्रोमा जनकपुरको १६ दशमलव ७५ प्रतिशतले बृद्धि भयो । अघिल्लो वर्ष जनकपुरको निक्षेप बृद्धिदर ३५ दशमलव ३६ प्रतिशत थियो भने सबैभन्दा धेरै सिद्धार्थनगरको ४० दशलव ४३ प्रतिशत थियो ।