बंगलादेशमा पुन निर्वाचनको माग
काठमाडौं ,७ माघ। बंगलादेशको विपक्षी दलकी नेत्री खालिदा जियाले त्यहाँ नयाँ निर्वाचनको माग गरेकी छिन् ।निर्वाचनका महिनादिन पनि बित्न नपाउँदै उनले यसअघिको निर्वाचनमा सरकारले धाँधली गरेकोले सो निर्वाचनलाई आफूहरुले मान्यता नदिने बताएकी हुन् । उनको दलले यसै महिना भएको निर्वाचनको बहिस्कार गरेको थियो ।उनले सोमबार आफ्ना समर्थकहरुलाई राजधानी ढाकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सो भनाई राखेकी हुन् । उनले आफ्ना समर्थकहरुलाई नयाँ निर्वाचनका लागि वर्तमान सरकारलाई बाध्य पार्नका लागि ठूलो आन्दोलन गर्ने पनि बताए ।
बंगलादेशमा दुई पटकसम्म प्रधानमन्त्री बनिसकेकी उनले यसअघिको निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले व्यापक मात्रामा धाँधली गरेको आरोप पनि लगाइन् । नयाँ प्रधानमन्त्रीका रुपमा हसिनाले गत हप्तामात्र सपथ लिएका थिए ।तर विपक्षी दलले भने उनलाई सबै दललाई समेटेर र नयाँ चुनावी सरकार गठन गरेर मात्र निर्वाचन गराउन माग गरेको थियो । विपक्षी दललाई नाराजुलुशका लागि पनि प्रतिबन्ध गरेकाले आज पहिलोपटक निकालिएको जुलुशलाई सम्बोधन गर्दै उनले कुनैपनि हालतमा वर्तमान सरकारलाई मान्यता नदिने बताइन् ।-एजेन्सी