जनपत्रकार संगठन नेपाल काठमाडौँको अध्यक्षमा जितेन्द्र महर्जन

२०७८ पुष २५ गते, आईतवार


काठमाडौँ । जनपत्रकार संगठन नेपाल काठमाडौँको दोश्रो जिल्ला सम्मेलनले अध्यक्षमा जितेन्द्र महर्जनसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सर्मिला उपाध्याय, बिनिता खड्गी, सचिवमा भरत विक, सहसचिवमा मनिषा बस्नेत, कोषाध्यक्षमा राजेश रसाइली निर्वाचित भएका छन् । सदस्यमा मनिषा थापा, अभय महर्जन, विष्णु डोङ, सुमन डंगोल, गंगा महर्जन, पवित्रा कार्की, पविता फुयाँल, ड्रेन लामा, विशाल लामा, शिव काफ्ले, रामहरि पौडेल निर्वाचित भएका छन् ।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्ज वसन्त श्रेष्ठ ‘प्रज्वलन’ले बर्तमान व्यवस्था सम्रान्तको व्यवस्था भएकाले यसले नेपाली जनताको हित नगर्ने बताए । ‘यो व्यवस्था नेपाली कांग्रेस भित्रका सम्रान्तहरुको, एमालेभित्रका सम्रान्तहरुको, माओवादी भित्रका सम्रान्तहरुको व्यवस्था हो । उनीहरुले पनि यसको विकल्प खोजेका छन् ।’ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘उनीहरुले पनि यो व्यवस्थाको विकल्प खोजेका छन् तर समाधान दिन सकेका छैनन् । हामीले यसको समाधान लिएर आएका छौँ । यो कुरा जनताको माझमा पुर्याउन तपाई जनपत्रकारहरुको भूमिका महत्वपूर्ण छ ।’
यसैगरी , सम्मेलनलाई सम्बोधनगर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले जनताको वास्तविक मुक्तिका लागि देशमा व्यवस्था परिवर्तन अत्यावश्यक भएको र यसका लागि जनपत्रकारको भूमिका अझ महत्वपूर्ण हुने बताए । ‘वर्तमान राज्य व्यवस्था सम्पूर्ण रुपमा असफल र बदनाम छ र बैइमानीको उत्कर्षमा छ । राष्ट्र र जनताको भविष्यलाई अध्यारो धरातलमा धकेलिरहेको छ ।’ उनले भने, ‘यसको विकल्पमा हामीले के भन्यौं भने यो व्यवस्थालाई परास्त गर्ने र यसको ठाउँमा वास्तविक जनताको व्यवस्था स्थापना गर्ने, देश र जनताको स्वाभिमान बचाउने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ भनेका छौँ ।’
उनले अगाडि भने, ‘यो कुरामा धेरैको सहमति पाएका छौँ । यो विषयमा जनमत सृजना गर्ने कुरा र तल्लो तहमा पुर्याउने कुरामा जनपत्रकारको भूमिका महत्वपूर्ण हुनेछ । वैज्ञानिक समाजवादमा मात्र देश र जनताको वास्तविक मुक्ति प्राप्त हुन्छ भन्ने कुरालाई स्थापित गर्न जनपत्रकारले भूमिका खेल्नु पर्नेछ ।’
सम्मेलनलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले स्वतन्त्र पत्रकारिता भनेर बुर्जुवाहरुले गलत अफवाह फैलाएको बताए । ‘पत्रकारिता दुई वटा उदेश्य पूर्तिका लागि गरिन्छ । एउटा निश्चित मिसनका लागि र अर्को व्यवसायिक लाभ प्राप्तिका लागि ।’ उनले भने, ‘व्यवसायी लाभ प्राप्त गर्ने उदेश्यले प्रेरित बुर्जुवाहरु स्वतन्त्र पत्रकारिताको हल्ला फैलाएका छन् । जबकी उनीहरु आफै पनि स्वतन्त्र छैनन् । हामी मिसन पत्रकारिता गर्नेहरु निश्चित राजनीतिक, आर्थिक मिसनमा केन्द्रीत हुन्छौँ । पत्रकारितामा कहिँ पनि स्वतन्त्रता हुँदैन्, समाजमा वर्ग रहेसम्म वर्गीय पक्षधरता रहिरहन्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका केन्द्रीय सदस्य शोभराज बरालले पार्टीले अंगिकार गरेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई आत्मसाथ गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि पत्रकारिताको माध्यमबाट भूमिका खेल्न आग्रह गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]