दुई प्रजातिका नयाँ चरा भेटिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई प्रजातिका नयाँ चरा भेटिएको बताएका छन् । चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक नयाँ चरा भेटिएको बताउदै भने -“यी दुई प्रजातिका चराहरु गतवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो । “
चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ । गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताए । “चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष ४६ प्रजातिका चरा गणना भएका थिए”, संयोजक चौधरीले भने , “यस वर्षको गणनामा हामीले सिम कुखुरा, सिन्दूरे हाँस, तपकिरी फटाकडी, सुइरोपुच्छ्रे«, सुनजुरे हाँस, ग्रेटर पेन्टेड स्निप, कमन स्निाप, कैलोटाउके हाँसलगायतका १० प्रजातिका चरा फेला पारेनौँ ।”
नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो ।
गत वर्षभन्दाको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्यामा समेत धेरै कमी जनाइएको छ । साइबेरियालगायत उत्तरी गोलाद्र्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उनले बताए ।
गत वर्ष चरा गणनामा खोया हाँस ९३२ देखिएको थियो भने यस वर्षको गणनामा एक हजार २१० देखिएको हो । कुनै प्रजातिका चरा गतभन्दा बढी र कुनै प्रजातिका चरा गतवर्षको तुलनामा न्यून देखिएको चौधरीले बताउनुभयो । चखेवाको सङ्ख्यामा यो वर्ष गिरावट आएको छ । गत वर्ष पाँच हजार ५९३ चखेवा गणना गरिएकोमा यस वर्ष चार हजार दुई मात्र गणना गरिएको थियो ।
निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरैनै कमी आएको चौधरीले बताए ।