दूध प्रतिलिटर ८५ रुपियाँ !

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)को बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ थियो । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६.५२ रुपियाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ ।
उद्योगीले प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये सात रुपियाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने प्रस्ताव गरिएको थियो । यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरेको थियो। बोर्डबाट दूधको मूल्यबारे अध्ययन गर्नुभएका नेपाली डेरी साइन्स एसोसिएसनका सदस्य एवं डेरीविज्ञ डा. विनोद गुप्ताका अनुसार एक लिटर दूध उत्पादन गर्न औसत ६७.०७ रुपियाँदेखि ४५.३७ रुपियाँ खर्च हुने गरेको देखिएको छ ।