भारतीय गोठालाहरूलाई लद्दाख प्रवेश गर्न रोक

काठमाडौं । लद्दाखका एक स्वतन्त्र पार्षद कोन्चोक स्टान्जिनले चिनियाँ सैनिकले भारतीय गोठालाहरूलाई भारतीय भूमिमा प्रवेश गर्न रोकेको जनाएका छन् । स्टान्जिनले गत महिनाको जनवरी २८ मा चिनियाँ सेनाले पूर्वी लद्दाखको चुशुलमा प्रवेश गरी भारतीय गाईवस्तुको बथानलाई त्यहाँ चराउनबाट रोकेको दाबी गरेका छन् । न्योमा ब्लक विकास परिषद्का भाजपा अध्यक्ष उर्जेन चोदोनले पनि एक ट्वीटमा यस्तै दाबी गरेका छन् । चुशुल चीनको नियन्त्रित क्षेत्र नजिकै पाङ्गोङ तालको दक्षिणी किनारमा अवस्थित छ । स्टान्जिनले ट्वीट गरे, ‘जनवरी २८ मा पीएलएका सिपाहीहरू हाम्रो क्षेत्रमा प्रवेश गरे, हाम्रा गाईवस्तुहरूलाई चराउन दिएनन् ।’
स्टानजिनले एक भिडियो पनि साझा गरेका छन्, जुन मूल रूपमा उरगेनद्वारा ट्वीट गरिएको थियो । त्यस भिडियोमा पाँच जना मानिस जनावरको बथानको पछि दौडिरहेको देख्न सकिन्छ ।
यद्यपी यी व्यक्तिहरु को हुन् भन्ने थाहा हुन सकेको छैन । अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले भारतीय सेनाको स्रोतलाई उद्धृत गर्दै यो भिडियो पुरानो भएको लेखेको छ । स्रोतका अनुसार भिडियोमा हिउँ छैन, जसको मतलब यो गर्मीको समय हो । उर्गेनले ट्वीट गरे, ‘जनवरी २८ मा पीएलए सेनाहरू हाम्रो क्षेत्रमा प्रवेश गरे र हाम्रा आफ्नै गाईवस्तुहरूलाई चराउन दिएनन् । भारतीय सेनाले यस विषयमा कुनै कारबाही गरेको छैन । बरु, भेडा लिन एलएसी गएका हाम्रा आफ्नै गोठालाले उसलाई पक्रेर प्रहरीलाई सुम्पिदिए ।’