बन्दकर्तामाथि प्रहरीको बर्बर दमन : दजनौ गिरफ्तार

२०७८ फाल्गुन १६ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरेको नेपाल बन्दको क्रममा कञ्चनपुरको महेन्द्रनगरमा बन्दकर्तालाई प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरेर घाइते बनाएको छ । बन्द गराउने क्रममा नेकपा कञ्चनपुर भीमदत्तनगर सचिव दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सहसचिव हरिश ऐरीलाई प्रहरीले लट्ठी प्रहार गरी घाइते बनाएको हो । यस विषयमा नेकपाका जिल्ला सचिव जीवन परियारले राष्ट्रहितका लागि गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले दमन गरेको बताए । त्यो दमनलाई आफूहरूले सशक्त रूपमा प्रतिकार गर्ने उनले बताए । नेता परियारले भने, ‘देशको राष्ट्रियता सङ्कटमा रहेको बेला सबैले यो बन्द र आन्दोलनलाई सहयोग र समर्थन गर्नुपर्छ । प्रहरीले दमन गर्ने नीति तत्काल रोक्नुपर्छ । नरोके असहज स्थिति पैदा हुनसक्छ ।’ यो अमर्यादित गतिविधिलाई प्रहरीले तत्काल रोक्नुपर्ने र जनताका जायज मुद्दालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
यसैगरी, रूपन्देहीमा एमसीसी सम्झौता विरुद्धको ६ दल र २ मोर्चाद्वारा पूर्व निधारित कार्यक्रम नेपाल बन्दलाई प्रभावकारी बनाउनका लागि शान्तिपूर्ण तरिकाले बन्द गराउदै हिडेका बन्दकर्तालाई प्रहरीले व्यापक दमन गरि गिरफ्तार गरेको छ ।
बन्दकर्ताहरुलाई बुटवलको नयाँ बसपार्कबाट गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज प्रेम सुबेदी, नेकपाका बुटवल नगर सेक्रेटरी विरेन्द्र विक, नेताहरु खोमा तरामु, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इन्दु वली, केन्द्रीय सदस्य साया सापकोटा, पारस राहादी मगर, खगेन्द्र पौडेल, सरिता बराह, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष जानुका बराह, माधव न्यौपाने, अशोक सुनार, शेर बहादुर महर्जन, बसन्ती रेग्मी, दर्शन गुरुङ्ग, नेकपा मसालका नेता चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका बासुदेव पोख्रेल, लाल प्रसाद पोख्रेल हुन् ।
राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा देशैभरीबाट आन्दाेलनरत पार्टीका नेताकार्यकर्तालाई बिहानैदेखि प्रहरीले गिरफ्तार गरिरहेको छ । प्रहरीको दमनको बाबजुद बन्दकर्ताले ठाउँठाउँमा टायर बाल्ने, राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध प्रदर्शन गर्ने र बन्दको अवज्ञा गर्ने गाडीलाई ताेडफाेड गरिरहेको खबर प्राप्त भएको छ ।
यता, नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला विशेष कमिटी सदस्य ध्रुव खड्डा लगायतका चारजना नेतालाई बन्द प्रचार गर्दै गर्दा प्रहरीले गिरफ्तार गरेको छ । चितवन जिल्ला कार्यालय सचिव प्रेम चौधरीले दिएको जानकारीअनुसार बन्द आह्वान् गर्दै गर्दा विशेष कमिटीका सदस्य ध्रुव खड्का, अखिल (क्रान्तिकारी) पश्चिम संयोजक सुरेन्द्र बस्नेत, पार्टी जिल्ला सदस्य कुमार विक लगायतलाई प्रहरीले लाइन्सचोकबाट गिरफ्तार गरेको हो । नेकपाका नेताकार्यर्ताहरूलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको जानकारी जिल्ला कार्यालय सचिव चौधरीले दिएका छन् ।
यसैगरी, एमसीसी सम्झौताकाे विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला सचिवालय सदस्य तथा काठमाडौं महानगर समितिका इन्चार्ज अविरल चन्द र नेवा मुक्तिमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष दिपक मानन्धरलाई साेह्रखुट्टेबाट प्रहरीले गिरफ्तार गरेको छ । बन्द गराउने क्रममा केहीबेर अघि काठमाडौंकाे साेह्रखुट्टेबाट प्रहरीले २ जनालाई गिरफ्तार गरि प्रहरीको गाडीमा लगिएको बताइएकाे छ । राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा आन्दाेलनरत पार्टीका नेताकार्यकर्तालाई बिहानैदेखि प्रहरीले गिरफ्तार गरिरहेको छ । प्रहरीको दमनको बाबजुद बन्दकर्ताले ठाउँठाउँमा टायर बाल्ने, प्रदर्शन गर्ने र बन्दको अवज्ञा गर्ने गाडीलाई ताेडफाेड गरिरहेको बुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]