विश्व बैंकद्वारा युक्रेनलाई ७० करोड डलर बराबरको ऋण तथा अनुदान

काठमाडौं । विश्व बैंकले युक्रेनका लागि ७० करोड डलर बराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ । बैंकले अस्पतालका कर्मचारीलाई तलब खुवाउन,वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई सो रकमले सहयोग पुर्याउने जनाएको हो । केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बस्ने छन् । विश्व बैंकको उक्त प्याकेजका लागि बेलायत, डेनमार्क,लाटिभिआ र लुथिआनिआ लगायत देशले पनि सहयोग गरेका हुन् । अर्कोतिर मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनका सर्वसाधारणलाई सुरक्षित ठाउँतर्फ जान दिन एउटा भावुक अपील गरेका छन् । न्यूयोर्कस्थित सुरक्षा परिषद्को आपत्कालीन बैठकमा मार्टिन ग्रिफिथ्सले युद्धका कारण युक्रेनमा फसेका लाखौँ सर्वसाधारणको दयनीय अवस्थाबारे चर्चा गरेका हुन् ।
हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उनले उल्लेख गरेका छन् । रुसी आक्रमणमा परेका क्षेत्रबाट जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा मानिसहरूलाई जान दिन उनले आग्रह गरेका हुन् । राष्ट्रसङ्घका लागि रुसी राजदूतले भने सर्वसाधारणलाई जान नदिएको कुरा अस्वीकार गरेका छन् ।