कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

काठमाडौँ । तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने – “यसलाई व्यवस्थित गरेर जलविहार यात्रा सञ्चालन गर्छाैँ ।”
गाउँपालिकाले यसका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । घिरिङ –१ बैडीबाट घिरिङ –४ करुवाटारसम्म जलविहार सञ्चालन गरिने जनाइएको छ । यसअघि घिरिङसँग सिमाना जोडिएको चापाकोट, बौदीकालीको संयुक्त पहलमा जलविहार सञ्चालन गर्न खोजिए पनि सम्भव भएको थिएन । जलविहार गर्न आउनेलाई बास बस्नका लागि घरबास पनि सञ्चालन गरिएको छ । पुट्टारको घरबास, दृश्यावलोकन केन्द्रलगायतलाई जोडेर जलविहार सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष रानाले बताए ।
“गाउँपालिका र प्रदेश सरकारको संयुक्त प्रयासमा गोफा खोला थुनेर कृत्रिम ताल पनि बनाउँदैछौँ, घिरिङमा रहेका सबै पर्यटकीय क्षेत्रलाई एकीकृत गरी जलविहार यात्रा सुरु गर्छौँ”, उनले भने – “यसले समग्र पालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।” नारायणी नदी किनारमा सञ्चालन गरिएको जस्तो मोटरबोट सञ्चालन गर्ने भनिए पनि कालीगण्डकीमा त्यो सम्भव नदेखिएको उनले बताए । गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बैडीबाट करुवाटारसम्म जलविहार गराएको छ ।