जनयुद्धको बाँकी कार्यभार पूरा गर्न जोड

काठमाडौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले काठमाडौँमा शनिबार आयोजना गरेको २४ औँ सांस्कृतिक प्रतिरोध दिवसका वक्ताहरुले जनयुद्धको बाँकी कार्यभार पूरा गर्न जोड दिएका छन । सो कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारीले दलाल संसदीय व्यवस्था ठीक छ भन्नेहरू एकातिर र यसको विकल्पमा क्रान्तिको बाटो रोजेकाहरू अर्कातिर केन्द्रीकृत भएर जनयुद्ध र महान् सहिद तथा बेपत्ता योद्धाका सपना साकार पार्नुपर्ने बताएका छन् । बेपत्ता योद्धा विपीन भण्डारीका बुबा भण्डारीले जनयुद्ध र एकीकृत जनक्रान्तिका उद्देश्यहरू पूरा गर्न सम्झौता, सहमति वा चुनावको बाटोबाट नभएर बल प्रयोगको बाटोमै जानुपर्नेमा पनि जोड दिए । उनले भने, ‘सहिदका सपना र जनयुद्ध–एकीकृत जनक्रान्तिको उद्देश्य बल प्रयोगबाटै प्राप्त हुन्छ, सम्झौता, सहमति वा चुनावको बाटोबाट होइन । जनमतसङ्ग्रहको कम क्षतिको बाटो पनि अपनाउन सकिन्छ तर सत्ता कसरी प्रस्तुत हुन्छ, त्यसरी नै जानुपर्छ ।’
महान् जनयुद्धमा योद्धाहरूको हत्या गर्ने शक्तिहरू र विशेषगरी नेपाली काङ्ग्रेससँगै मिलेर एउटै घोषणापत्र तयार पारी चुनावमा जान लागेको भनेर भण्डारीले माओवादी केन्द्र र प्रचण्डको तीक्ष्ण आलोचना पनि गरे । ‘जनयुद्ध परित्याग गर्नु, सहिद–बेपत्ता योद्धाका सपनामाथि घात गर्नु र नेपाली काङ्ग्रेससँगै मिलेर एउटै मेनिफेस्टो बनाउनु प्रचण्डको गद्दारी हो’, उनले भने ।
दलाल संसदीय व्यवस्थाले गराउने चुनावले देश र जनताका समस्या समाधन गर्न नसक्ने र कुनै पनि पार्टीलाई चुनावप्रति विश्वास नभएकाले क्रान्तिकारीहरूले त्यो बाटो अनुसरण गर्नु नहुने वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ थियो । ‘नेता भनेकै विचार हो । विचार सही रहेसम्म विचारको विश्वास गर्नुपर्छ र त्यसैलाई आधार मानेर अघि बढ्नुपर्छ’, उनले भने ।
जनयुद्ध आरम्भ गर्दाका नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत रहेका एमसीसीविरुद्धका अभियन्ता नारायण शर्मा ‘कमलप्रसाद’ ले प्रचण्ड–बाबुरामकै कारण जनयुद्धमा गद्दारी भएको बताए । ‘सहिद–बेपत्ता योद्धाका सपना पूरा हुन नसकेकोमा जनयुद्ध आरम्भकर्ताको हैसियतले मैले पनि आत्मालोचना गर्नुपर्छ तर मूल गद्दारी प्रचण्ड–बाबुरामबाट भएको हो । अहिले उनीहरूले एमसीसी पारित गरेर राष्ट्रियतामाथि पनि घात गरेका छन्’, उनले भने । आक्रोशित हुँदै माओवादी नेता शर्माले भने, ‘प्रचण्ड–बाबुरामजस्ता गद्दार बाँचेर यस्ता होनहार युवा, किशोरकिशोरीले बलिदान गर्नुप¥यो । गद्दारीलाई चिर्दै कमरेड विप्लवहरूले क्रान्तिको झन्डा उठाउनुभएको छ । यो स्वागतयोग्य छ । बलिदानबाट आएको जागरणलाई भुत्ते हुन दिनु हुँदैन । सम्झौता र सहमतिमा आएर क्रान्तिबाट पछि फर्किनु हुँदैन । हामी हाम्रो ठाउँबाट सघाउन तयार छौँ ।’
महासङ्घकी उपाध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष शोभा दुलालले सहिदको बलिदानको उद्देश्य र जनयुद्धका बाँकी कार्यभार पूरा गर्न क्रान्तिकारीहरू अविचलित भएर लाग्नुपर्ने बताइन् । राष्ट्रघाती एमसीसीविरुद्ध आन्दोलन जारी रहेकाले क्रान्तिकारी संस्कृतिकर्मीहरूले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा निरन्तर विचार र सिर्जनाका माध्यमबाट हस्तक्षेप गरिरहनुपर्ने उनको भनाइ थियो ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले आजको अवस्था महान् सहिदहरूको बलिदानबाट प्राप्त भएको बताए । उनले आजका क्रान्तिकारीहरू फेरि प्रतिक्रान्तिकारी नबन्लान् भन्ने कुनै निश्चित नभएकाले माक्र्सवादी संस्कृतिकर्मीहरूले खबरदारी गरिरहनुपर्ने धारणा राखे ।
प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले दलाल र गद्दारहरूले धोका दिएर सहिदको रगतलाई भुले पनि क्रान्तिकारीले देश र जनतालाई धोका दिनु नहुने बताए । उनले क्रान्तिकारीहरूले अब संसदीय व्यवस्थामा फसेर हामी धोका दिँदैनौँ भनी जनतालाई आश्वस्त पार्नुपर्ने धारणा पनि राखे । उनले नेताहरूलाई खबरदारी गर्दै र सहिदहरूलाई सलाम गर्दै कविता पनि वाचन गरे ।
महासङ्घको केन्द्रीय सांस्कृतिक टोली सामना परिवारका कलाकारले जनवादी गीत–सङ्गीत प्रस्तुत गरेको कार्यक्रममा सुशीलसिंह ठकुरी, रसुवाली कवि, कुशल बोगटी, लक्ष्मण तामाङ, समग्र बम, खेम आचार्य, मुक्तान थेबा, अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, बिहानी विक, आरोह नेपाली, पवित्रा चुनारालगायत स्रष्टाले गीत र कविताहरू प्रस्तुत गरेका थिए ।
महासङ्घकी उपाध्यक्ष शोभा दुलालको अध्यक्षता, कोषाध्यक्ष आरोह नेपालीको सञ्चालन र सचिव अशोक सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय स्कुलिङ विभागका सदस्य विपीन, नेकपा काठमाडौँका सेक्रेटरी तुल्सीनारायण, नेकपा भक्तपुरका सेक्रेटरी विजय, नेकपा रसुवाका सेक्रेटरी हरि नेपाली, नेकपा धादिङका सेक्रेटरी कुशल, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव राजकुमारी शाही, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका संयोजक व्यापक नेपाली, अखिल नेपाल चलचित्रकर्मी सङ्घका अध्यक्ष विवेक सापकोटा, युवा सङ्गठन नेपालकी महासचिव विदुषी, मगर मुक्ति मोर्चाका महासचिव इन्द्र मगर, शिक्षक सङ्गठनका महासचिव लक्ष्मीराम ढकाल, श्रमिक समुदायका महासचिव त्रिलोचन लुहार, किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष हरि श्रेष्ठलगायत दुई सयभन्दा बढी पार्टी नेता, कार्यकर्ता र जवस मोर्चाका सदस्यहरूको सहभागिता थियो ।
यसैगरी, २४ औं सांस्कृतिक प्रतिरोध दिवसको सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको सिर्जना चौतारी कार्यक्रममा २५ जना स्रष्टाहरूले कविता, गीत, मुक्तकलगायत सिर्जनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ लेखक एवं माक्र्सवादी सौन्दर्य चिन्तक दिल साहनीले सांस्कृतिक आन्दोलनले सही राजनीतिक आन्दोलनलाई सेवा गर्नुपर्ने भन्दै सांस्कृतिक रुपान्तरण नभएसम्म राजनीतिक आन्दोलन सफल नहुने बताए । उनले सांस्कृतिक प्रतिरोध दिवस क्रान्तिकारीहरुका लागी महत्वपूर्ण दिवस भएको भन्दै निरन्तर क्रान्तिमार्फत् सहिदका सपना पुरा गर्नुपर्ने बताए । उनले समाज वर्गीय भएकोले साहित्य कला पनि वर्गीय हुने भन्दै जनयुद्धको मूल्यबोधमाथि प्रतिक्रियावादीहरुले अपमान गरिरहेको बताए । उनले साहित्य कलाले जनताको सेवा गर्नुपर्ने भन्दै साहित्यकार र कलाकारहरुले क्रान्तिको सेवा गर्नुपर्ने बताए । उनले साहित्य कला रूप र विचारको संयोजन भएको भन्दै जनताको स्तरअनुसार कला साहित्य सिर्जना गर्नुपर्ने बताए । उनले सिर्जना चौतारी स्रष्टाहरूको सिर्जना माझ्ने थलो बन्नुपर्ने बताए ।
नेकपाका जिल्ला सदस्य नवीन थारूले लेखक साहित्यकार र संस्कृतिकर्मीहरुले कलामार्फत् क्रान्तिको सेवा गर्नुपर्ने भन्दै सांस्कृतिक रुपान्तरणविना समाज परिवर्तन असम्भव हुने बताए । नेता थारूले पार्टी निरन्तर क्रान्तिको पक्षमा रहेको बताउदै प्रतिक्रियावादीहरूको भ्रम र षड्यन्त्रलाई खारेज गर्नुपर्ने बताए ।
अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल लेखक सङ्घका महासचिव खोमा तरामु मगरले दलाल पुँजीवादी संस्कृति र सांस्कृतिक उपभोक्तावादको विरुद्ध एकीकृत सांस्कृतिक आन्दोलन जरूरी भएको बताए । उनले साहित्य, कला, गीत, सङ्गीत तथा बौद्धिक गतिविधिका माध्यमबाट सांस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले सिर्जना चौतारीको मासिक शृङ्खला सुरु गरिएको बताए ।
कार्यक्रममा ज्ञानु केसी, खोमा तरामु मगर, पारस राहादी मगर, साया किरण, इन्दु वली, रूपसिंह विश्वकर्मा, देवराज देउकी, जयकिसन, नयन अर्याल, प्रविन न्यौपानेलगायतले कविता, मुक्तकलगायत सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जनकलाकार रेश्मी बुढा मगर, आत्मा पौडेल, देवराज देउकी, जयकिसनलगायत सङ्ग्रामी सांस्कृतिक परिवारले गीत प्रस्तुत गरेको थियो ।
सङ्ग्रामी सांस्कृतिक परिवारका अध्यक्ष एवं कलाकार आत्मा पौडेलको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता महासङ्घका जिल्ला अध्यक्ष बिहानी मगरले गरेका थिए । सिर्जना चौतारी हरेक महिनाको पहिलो शनिवार नियमित शृङ्खलाको रूपमा सञ्चालन हुने अध्यक्ष बिहानी मगरले बताए ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउदै आएको छ । एक वर्ष अगाडि बुटवलको ट्राफिक चोकमा प्रतिरोध दिवस मनाएको थियो ।