स्नोडेन नोवेल शान्ति पुरस्कारका लागि मनोनित

२०७० माघ १६ गते, बिहीबार


काठमाडौँ । अमेरिकी गुप्तचरीका सूचना चुहाएर चर्चामा आएका नेसनल सेक्युरिटी एजेन्सीका पूर्व कर्मचारी इडवार्ड स्नोडेनलाई नोवेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको छ ।अमेरिकाका जासुसी हर्कतबारे संसारलाई जानकारी दिएर हायलकायल बनाएका स्नोडेन हाल रुसमा शरण लिइरहेका छन् । नर्वेका दुई अभियन्ताले स्नोडेनको ‘योगदान’को मूल्याङ्कन गर्दै उनलाई नावेल शान्ति पुरस्कार दिन सिफारिस गरेका छन् ।
समाचार समिति एएफपीका अनुसार नर्वेको समाजबादी पार्टीका नेता ब्राढ भेगर र स्नोरी भेलेनले स्नोडेनलाई शान्ति पुरस्कारका लागि सिफारिस गरेका हुन् ।
स्नोडेनले अमेरिकी गोप्य अपरेशनका जानकारी सार्वजनिक गरिदिएपश्चात उत्पन्न बहस र त्यसले ल्याएको नीतिगत परिवर्तनले शान्त र स्थिर बिश्वका लागि सहयोग पु¥याएको उनीहरुको ठहर छ ।
सन् २०१४ को नोवेल शान्ति पुरस्कारका लागि यही फेब्रुअरी १ तारिखसम्म मनोनयन र सिफारिस बुझाउनुपर्ने अन्तिम मिति तोकिएको छ ।स्नोडेन मनोनयनमा पर्नुको अर्थ उनले पुरस्कार पाउने ग्यारेन्टी भने हैन् । निर्णायक मण्डलले मनोनित सवै नाममाथि अध्ययन गरि पुरस्कारको घोषणा गर्ने गर्छ ।
सामान्यतयाः सिफारिसकर्ताले मनोनयनमा पर्नेका नाम सार्वजनिक नगर्ने चलन भए पनि कतिपय सन्र्दभमा यस्तो सूचना चुहिने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]