‘क्रान्तिलाई बिजयी बनाउन नयाँ कार्यनीतिको बिकास गरेका हौ’

२०७८ चैत्र ३० गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आजको बिश्वको शक्ति सन्तुलन तथा विकसित अन्तरविरोध , मुलुकको बर्गिय एबम राजनैतिक शक्ति सन्तुलनको विशिस्ट स्थिति र नेपाली क्रान्तिको बिजयका लागि पार्टीले अहिलेको कार्यनीति लिएको बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन र मोर्चाद्वारा मंगलबार काठमाडौमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् ।
उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने – ‘ हामीले नेपालमा समाजवादी क्रान्तिलाई अगाडि बढाउन एकीकृत क्रान्तिको कार्यदिशा अगाडि सारेका छौ, यो कार्यदिशा अनुसार रणनीति र कार्यनीति बिकास गर्न जरुरी हुन्छ, हामीले जनयुद्ध र जनबिद्रोह जस्ता दुवै कार्यदिशाका सार्वभौम मान्यताहरुलाई आत्मसात गर्दै नेपाली मौलिकता र आजको प्रधान अन्तरविरोधलाई हल गर्न नयाँ कार्यदिशाको बिकास गर्नै पर्थ्यो । शुरुमा हामीले पार्टीलाई पुनर्गठन गर्दा मानिसहरुले हामीलाई मन्त्री पद नपाएर बिद्रोहको कुरा गरेका हुन भने , त्यसपछी हामी अगाडि बढ्दै गएपछि यिनिहरु दरवार , भारत वा कुनै अदृश्य शक्तिबाट परिचालित छन पनि भने ,त्यो पनि समयक्रममा खण्डित हुँदै गयो र अहिले हामीले चुनावी कार्यनीति लिए पछि यिनिहरु संसदवादी भए भन्ने हल्ला गरिरहेका छन , यो एउटा क्रान्तिकै मोर्चा हो , समयका हिसाबले यो मोर्चा एक – डेढ महिनाको मोर्चा हो, यसलाई हामीले सफल पार्नु पर्छ, साम्राज्यवादीहरु हाम्रा विरुद्ध सबै मोर्चा र तरिकासहित आइरहेका छन, हामीले कुनै एउटा मात्रै मोर्चाबाट मात्रै बिजय हासिल गर्नै सक्तैनौ । ‘


एक फरक प्रसङ्गमा महासचिव विप्लवले भने – “सरकारसङ्ग भएको तीन वुदे सहमतिको कार्यान्वयन नगर्दै ,हाम्रा नेता कार्यकर्ताहरुलाई जेल र हिरासतमै राखेर , हामीले उठाउदै आएका मुलुकका बिधमान समस्या र मुद्दाहरुलाई हल गर्ने बारे हामिसङ्ग न्युनतम समझदारी नै नगरी स्थानीय तहको चुनाबको बारेमा सरकारले सोच्नु शान्ति प्रक्रिया प्रतिको बेइमानी हो ,यसले मुलुकमा फेरि समस्या निम्त्याउछ , यसप्रति गम्भीर हुनुहोस भनेर सरकारलाई भनेका छौ ।”
उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य अनिल शर्मा बिरहीले गरेका थिए भने कार्यक्रमको सन्चालन केन्द्रिय सदस्य चिरन पुन – मिलनले गरेका थिए । प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्यहरु बन्धु चन्द, आधार, खुमा सुवेदी र शुसिलको समेत सहभागिता रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]