मेलम्चीको पानी ल्याउन बन्द !

काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षायाम सुरु भएको भन्दै आजदेखि मुल ढोका (गेट) बन्द गरेको छ । आयोजनाको मुल ढोका बन्द भएसँगै यही बैशाख ११ गतेदेखि काठमाडौं ल्याईएको पानी बन्द भएको छ । बैशाख १८ गतेदेखि बन्द गर्ने तयारी गरेकोमा एक दिन अगाडी नै बन्द भएको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जलस्रोत तथा मौसम पूर्वाधार महाशाखाले दिएको मौसम बुलेटीनका आधारमा आजदेखि आयोजना बन्द गरिएको बताए । उनले बर्षा सकिएपछि पुनः मेलम्चीको पानी काठमाडौं ल्याईने बताए ।उनले भने – ‘हामीले असोजसम्म आयोजना बन्द गरेका छौँ, त्यो बेलासम्म बर्खा जारी भयो भने केही समय आयोजना पुनः बन्द गरिन्छ ।’
यही बैशाखको दोस्रो सातादेखि अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो । मेलम्ची खोलामा बाढी आउनु पहिला नै खानेपानी आयोजनाको सुरुङ बन्द गर्नुको विकल्प नरहेको आयोजनाले जनाएको छ । धमिलो पानी आएपछि सुरुङमा हाल्दा प्राविधिक रुपमा उपयुत्त नहुने भएपछि अस्थायी संरचना तयार गरेर पानी ल्याएको १ महिना मै बन्द गर्न लागिएको हो । हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । बैशाख ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरु गरेका थिए । अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन । आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन । दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले त्यहा भएको क्षतिको अध्ययन गरिरहेको छ । बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ ।