कोइराला पदभार ग्रहण गर्दै

२०७० माघ २८ गते, मंगलवार


काठमाडौं ,२८ माघ।आज नव निर्वाचति प्रधानमन्त्री सुशील कोइरालाले पदभार ग्रहण गर्ने भएका छ । कोइरालाले आज दिउँसो राष्ट्रपति निवासमा हुने विशेष कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।
कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्रालय भागबन्डाका विषयमा एमालेसँग केही विवाद उत्पन्न भएपनि अहिले त्यसलाई मिलाउन कांग्रेस र एमाले नेताहरु लागि परेका छन् । एमालेसँगको विवाद मिले आजै कोइरालाले सानो आकारको मन्त्रिमण्डल गठन गरी कार्यभार सम्हाल्ने योजना बनाएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।सोमबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा बहुमत ल्याएर विजयी भएका थिए ।
यसैबीच ,कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएकै दिनबाट कांग्रेस–एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको छ ।सातबुँदे सहमतिसँगै उपप्रधानमन्त्री र गृहमन्त्रीसहित बराबरी मन्त्रालय लिने गरी आइतबार भएको समझदारी कांग्रेसले उल्लंघन गरेको भन्दै सोमबार दोस्रो दल एमालेले सरकारमा सहभागी नहुने जनाउ दिएपछि सत्ता गठबन्धन संकटमा परेको हो ।प्रधानमन्त्रीपछिको मर्यादाक्रममा रहने गरी उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिने सहमतिबाट कांग्रेस पछि हटेपछि आफैं समर्थक रही प्रधानमन्त्री निर्वाचित भएका कोइराला नेतृत्वको सरकारमा सहभागी नहुने अवस्था सिर्जना भएको एमालेले जनाएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओलीलाई फोन गरेर पार्टीभित्रको समस्या देखाएर गृह मन्त्रालय दिन नसकिने बताएका थिए । एमाले स्रोतका अनुसार कोइरालाले दुवै नेतासँग वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहका कारण गृह मन्त्रालय दिन नसकिने बताएका थिए ।आइतबार एमालेलाई गृहसहित आधा मन्त्रालय दिने सहमति गरेका कोइरालाले प्रधानमन्त्री निर्वाचित भएपछि दिन नसकिने बताएका थिए । जवाफमा एमालेका दुवै नेताले सरकारमा सहभागी नहुने निर्णय सुनाएका छन् ।
एमाले अध्यक्ष खनालले नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई सहमतिअनुसार गृह मन्त्रालय पार्टीलाई नदिए सरकारबाहिरै रहेर समर्थन जनाउने स्पष्ट जवाफ दिएका छन् । ‘गृह मन्त्रालय नदिए यो गठबन्धन संकटग्रस्त हुन्छ, सबै सहमति समाप्त हुन्छ, अब यो गठनबन्धनलाई बचाएर लैजानेरनलैजाने ? संविधान जारी गर्ने कि फेरि असफल बनाउने भन्ने निर्णय तपाईंको हातमा छ,’ प्रधानमन्त्री कोइरालालाई एमाले अध्यक्ष खनालले दिएको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु